साउनमा सकिन लाग्दा पनि रोपाई सकिएन

0
Shares

विनोद सिंहविष्ट, बैतडी
साउन महिना सकिनै लाग्दा समेत बैतडीमा अझै पनि रोपाई गर्ने कार्य सम्पन्न हुन सकेको छैन् ।

जिल्लामा हालसम्म ९३ प्रतिशत मात्र रोपाई सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ । जिल्लामा अव ७ प्रतिशत रोपाई मात्र बाँकी रहेको छ ।

जिल्लाको गोकुलेश्वर,रातामाटा, सेरालगायतका बेसी क्षेत्रका अझै रोपाई गर्न बाँकी रहेको जिल्ला कृषि विकास कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत कर्ण बहादुर चन्दले जानकारी दिनुभयो । उक्त क्षेत्रहरुमा बर्षमा तिनखेती गर्ने भएकोले रोपाई गर्न बाँकी रहेको छ । यसका साथै केही क्षेत्रमा सिचाँई सुविधा नभएको ठाउँमा रोपाई गर्न बाँकी रहेको जनाएको छ ।

समयमै बर्षा भएकाले गतबर्षभन्दा यो बर्ष चाडैं सकिने जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ । गतबर्ष यो समयमा ८० प्रतिशत मात्रै रोपाई सकिएको थियो । देशका धेरैजसो जिल्लामा मनसुनी बर्षा सक्रिय नहुँदा रोपाई हुन नपाएको भएपनि प्रदेश ७ को पहाडी जिल्ला बैतडीमा भने यो बर्ष भने ९३ प्रतिशत रोपाई सम्पन्न भएको छ ।

गतबर्षको तुलनामा यस बर्ष रोपाई केही छिटो भएको छ । गतबर्ष भन्दा यो बर्ष मनसुन सक्रिय भएकोले तथा समयमै बर्षा भएकोले बैतडीमा रोपाई चाँडैं भएको जिल्ला कृषि विकास कार्यालयका निमित्त वरिष्ठ कृषि विकास अधिकृत चन्दको भनाई रहेको छ ।

बैतडीका अधिकांस किसानले यो वर्ष समयमै पानी परेकोले चाडैं धान रोपाई गर्न पाएका छन् । उहाँले भन्नुभयो ‘समयमै पानी परेकोले यहाँका कृषकहरुलाई धेरै राहत मिलेको छ’

धान उत्पादनमा बृद्धि हुने अनुमान
बैतडीमा यो बर्ष धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ । जिल्ला कृषि विकास कार्यालयका निमित्त कृषि विकास अधिकृत चन्दले भन्नुभयो‘ अहिलेको अवस्थालाई हेर्ने हो भने यो वर्ष बैतडीमा धान उत्पादन धेरै हुने अपेक्षा गरिएको छ ।’

समयमै पानी परेकोले तथा उपयुक्त समयमा रोपाई सम्पन्न भएकोले धान उत्पादन बढ्ने अनुमान गरिएको उहाँको भनाई रहेको छ । उहाँले भन्नुभयो ‘सबै ठाउँमा सिँचाई सुविधा छैन, समयसमयमा आकासे पानी पर्ने हो भने उत्पादन बढ्छ’

रोपाईका गर्नका लागी खास गरी असारको महिना उपयुक्त हुन्छ जिल्ला कृषि विकास कार्यालयका निमित्त कृषि विकास अधिकृत चन्दले भन्नुभयो ‘असारमा बर्षा कम हुने भएकोले साउन पहिलो सातासम्म पनि उपयुक्त मानिन्छ’

गत बर्ष बैतडीमा १८ हजार ९ सय मेट्रिकटन धान उत्पादन भएको थियो ।
समयमै बर्षा भएकाले रोपाई गर्ने कार्य सम्पन्न भएको दोगडाकेदारमा किसान मान सिंह विष्टको भनाई रहेको छ । बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लाको पाटन, हाट, सलेना र रुद्रेश्वर धान उत्पादनको पकेट क्षेत्रको रुपमा रहेका छन् ।

बैतडीमा १० हजार हेक्टर क्षेत्रफल जमिनमा सिँचाई सुविधा रहेको भएपनि त्यसमध्ये करिव ७ हजार हेक्टर क्षेत्रफल जमिनमा मात्रै धान खेतीका लागी सिँचाई सुविधा रहेको छ । अन्य ३ हजार हेक्टर क्षेत्रफल सिँचाई सुविधा रहेको जमिनमा तरकारी खेती,तथा अन्य खेती गरिदै आएको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ ।