सबैखाले विपद् व्यवस्थापन गरिनेछः मन्त्री केसी


नेपालगञ्ज ।
प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले बाँके र बर्दियामा हुने सबैखाले विपद्को व्यवस्थापन गरिने बताउनुभएको छ ।

आज यहाँ बसेको बाँके जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा उहाँले भन्नुभयो, “यसका लागि आवश्यक प्रविधि, जनशक्ति र स्रोतको उचित व्यवस्था मिलाइने छ ।”

मन्त्री केसीले विपद् आउने समयमा नागरिकलाई सुरक्षित स्थानमा बसोवास गराउनु, उच्च जोखिमयुक्त स्थानको पहिचान गर्नु र पूर्व तयारीका सबै संयन्त्रलाई सक्रिय बनाइराख्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं ५ अन्तर्गत सबै जिल्लाका स्थानीय सरकारले विपद् व्यवस्थापनका लागि आवश्यक सबै तयारी गर्नुपर्ने बताउदै उहाँले त्यतिले पनि पुगेन भने थप सहयोगका लागि प्रदेश सरकार सधै संगै रहने छ भन्नुभयो ।

मन्त्री केसीले प्रदेश नंं। ५ सरकारले विपत व्यवस्थापनका लागि अहिले प्रदेश अन्तर्गतका जिल्लाहरुसंग सुझाव संकलन गरिरहेको उल्लेख गर्दै प्राप्त सुझावकै आधारमा विपद् व्यवस्थापन निर्देशिका तयार हुनेछ भन्नुभयो ।

बैठकमा बाँके जिल्लाको बाढी र डुवान प्रभावित क्षेत्रको अवस्था, पूर्व तयारी, उद्दार तथा राहत व्यवस्थापनलगायतका विषयमा छलफल गरिएको थियो ।

बाँके जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बैठक सम्पन्न भयो ।
रासस