पुलको ड्राइभर्सन निर्माणपछि स्थानीय हर्षित


सीताराम चौधरी, कपिलवस्तु ।
शिवराज नगरपालिका र विजयनगर गाउँपालिका जोड्ने सुरही खोलामा निर्मित पुलको ड्राइभर्सन निर्माणपछि अहिले यस भेगका सर्वसाधारण हर्षित बनेका छन् । पुल निर्माण भएपनि ड्राइभर्सन नहुँदा वर्षातको पानीले पुल छेउको माटो बगाएर महिनौदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीयले पुलको ड्राइभर्सन निर्माणले आवतजावतमा सहज भएपछि खुशी भएका हुन् ।
शिवराज नगरपालिका २ हल्लानगरको पश्चिममा ठेकेदारले पुल निर्माण गरेपनि डाइभर्सन निर्माण नगरी हिँडेपछि खोला वारिपारिका हजारौं सर्वसाधारणलाई आवतजावतमा निकै समस्या बेहोर्दै आएका थिए । विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले ड्राइभर्सन निर्माण र माटो पटानमा सक्रियता देखाएपछि बाटो सुचारु भएको छ । पुल सुचारुसँगै त्यस भेगका हजारौं बासिन्दा सहजपूर्ण यात्रा गर्न सक्ने भएपछि हर्षित बनेका हुन् ।
विजयनगर गाउँपालिकाको व्यापारिक केन्द्रको रुपमा रहेको शिवराज नगरपालिकाको चन्द्रौटा बजारसँग जोड्ने सडक ठेकेदारले समयमा निर्माण कार्य सम्पन्न गर्न नसक्दा स्थानीयहरुले समस्या झेल्नु परेको थियो । ड्राइभर्सन समयमा नै निर्माण नहुँदा स्थानीयलाई परेको समस्या कैयौं पटक गुनासो गर्दा समेत नगरपालिकाले कुनै चासो नदेखाएको स्थानीयले असन्तुष्टी छ । नगरपालिकाले ठेकेदारलाई निर्माणको जिम्मा दिएको तर ठेकेदारको चरम लापरवाहीको कारण दैनिक आवतजावत गर्ने हजारौं जनताले कठिनाई झेल्नु परेको स्थानीयको भनाई छ । दैनिक रुपमा ज्याला गर्ने मजदुर, विद्यार्थीदेखि व्यापारीसम्मका लागि यो बाटो अत्यन्तै महत्वपूर्ण भए पनि निर्माण कार्य समयमा नै सकाउनेतर्फ सम्बन्धित निकाय अग्रसर नभएको स्थानीयको आरोप छ ।
बर्षा सुरु भएसँगै आवतजावतमा निकै कष्ट झेल्नु परेको जनगुनासोेपछि विजयनगर गाउँपालिका अध्यक्ष थापाले चासो देखाएको स्थानीय बताउँछन् । गाउँपालिकाका जनताले समस्या भोग्नु परेको गुनासोपछि दुई दिनसम्म निर्माण कार्यमा खटेर बाटो सुचारु गराएको बाटो निर्माण कार्यको नेतृत्व गरेका अर्जुन बेल्वासे बताउनुहुन्छ ।
निर्मार्णाधिन पुल शिवराज नगरपालिकाभित्रै पर्ने भएपनि नगरपालिकाले जनतालाई आवतजावतमा परेको समस्यालाई समाधान गर्नेतर्फ कुनै चासो नदिएपनि विजयनगर गाउँपालिकाले कर्मचारी खटाई बाटो निर्माण गरी सह्रानीय कार्य स्थानीयको बुझाई छ ।