बुगी वुगीको नेपाल संस्करणमा कविताले मारिन् बाजी

0
Shares

पुरस्कारस्वरूप पाइन् २५ लाख

डान्स रियालिटी शो बुगी वुगीको नपाली संस्करणमा सर्लाहीकी १८ वर्षीया कविता नेपालीले नेपालकै पहिलो डान्सिङ सुपरस्टारको उपाधि चुमेकी छिन्।

एपी वन टेलिभिजनद्वारा प्रस्तुत यो अन्तर्राष्ट्रिय डान्सिङ रियालिटी सो बुगी वुगीको शनिबार राति भएको फाइनल शोमा आप्mना अन्तिम २ प्रतिस्पर्धीलाई उत्कृष्ट नृत्य प्रस्तुततिले पछाडि पार्दै कविताले उपाधि चुमेकी हुन्। उपाधि चुमेबापत उनले नगद २५ लाख रुपियाँ पाएकी छिन्। नेपाली बुगी वुगीमा प्रगति पुनले फस्ट रनर्सअप हुँदै ६ लाख रुपियाँ पाएकी छिन् भने सरोज मोक्तानले सेकेन्ड रनर्सअप हुँदै ४ लाख रुपियाँ पाएका छन्।

एपी वनका अनुसार बुगी वुगीका लागि अनलाइन अडिसनमार्फत देशभरबाट ३ हजार नृत्य प्रतिभा सहभागी भएका थिए। तीमध्ये १ सय ५० जनालाई दोस्रो राउन्डको अडिसनका लागि काठमाडौं बोलाइएको थियो। उनीहरूमध्येबाट १८ जना प्रतियोगी छानिएका थिए। त्यसबाट पनि भिडियो, कला प्रदर्शनलगायत विभिन्न कठिन राउन्ड पार गर्दै उत्कृष्ट ३ नृत्य प्रतिभा छनोट भएका थिए। अन्तिम राउन्ड २ सातासम्म चलेको थियो। एपी वन टेलिभिजनले अन्तर्राष्ट्रिय फ्रेन्चाइज बुगी वुगी रियालिटी सो नेपालमा पहिलोपटक आयोजना गरेको हो। भारतको सोनी टेलिभिजनसँगको सहकार्यमा एपी वन टेलिभिजनले नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेन्चाइजका रियालिटी शोहरू आयोजना गरिरहेको छ। यसअघि एपी वनले नेपाल आइडल सञ्चालन गरेको थियो भने त्यसैको निरन्तरतास्वरूप डान्स रियालिटी सो बुगी वुगी सञ्चालन गरेको हो। एपी वनका अनुसार यसलगत्तै नेपाल आइडल सिजन टु पनि सञ्चालन हुँदै छ।

८ महिनासम्म चलेको यो कार्यक्रमको निर्णायकमा अभिनेता दिलिप रायमाझी, अभिनेतृ प्रियंका कार्की र कोरियोग्राफर कविराज गहतराज रहेका थिए। कार्यक्रमका लागि प्रशान्त तामाङ, रोहिया महर्जन र नरेशवीर ठकुरीले कोरियोग्राफी गरेका थिए।