सूर्यलाई नजिकबाट जाँच गर्ने यान प्रक्षेपणको तयारी पूरा


नासा, (एजेन्सी)
अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले सूर्यको नजिक यान पठाउने आफ्नो पहिलो अभियानका लागि तयारी पूरा गरेको छ। यो एक गाडी आकारको अन्तरीक्षयानलाई सूर्यको सतहबाट ४० लाख माइल दूरीसम्म पु¥याइनेछ।
सूर्यबाट ३ लाख ८३ हजार माइल दूरीमा २ हजार ५ सय फरेनहाइट तापक्रमको रापबाट बचाउन पार्कर सोलार प्रोबलाई ४ दशमलव ५ इन्चको बाक्लो कार्बनले सिल्ड गरेको छ। यसअघि कुनै पनि अन्तरीक्ष यानले यति ताप र प्रकाशको सामना गरका छैनन्। पार्कर सोलार प्रोबले अर्को महिना चाँडोमा अगस्ट ११ सम्ममा युनाइटेड लन्च एलाइन्स डेल्टा ४ हेभी रकेटबाट सूर्यतर्फ उडान भर्नेछ। यसअघि अगस्ट ६ मा प्रक्षेपण गर्ने योजना थियो। रकेटमा सामान बोक्ने अग्रभागको चुच्चोभित्रको फोममा खराबी देखिएपछि ढिलाइ गर्नुपरेको बताइएको छ।
यो अन्तरीक्ष यानले मानवद्वारा अहिलेसम्म निर्मित कुनै पनि वस्तुको तुलनामा सूर्यको सबैभन्दा नजिक बसेर अध्ययन गर्नेछ।
अमेरिकामा नासाका गोडार्ड स्पेस फ्लाइट सेन्टरका हेलियोफिजिक्स साइन्स विभागका सहयोगी निर्देशक एलेक्स यंगले भने– ‘हामी कैयौं दशकदेखि सूर्यको अध्ययन गरिरहेका छौं र अब अन्त्यमा हामीलाई थाहा हुनेछ, कति हदसम्म हामी सफल भयौं।हामी आँखाले जुन सूर्यलाई देखेका छौं, यो हामीले देखेकोभन्दा धेरै जटिल छ। मान्छेको आँखाले कहिल्यै नबदल्ने एक गोलाका रूपमा देखिने भए पनि सूर्य एक गतिशील तथा चुम्बकीयरूपमा सक्रिय तारा हो।’
पार्कर सोलार प्रोबमा कैयौं अत्याधुनिक उपकरण जडान गरिएका छन्। यसले सूर्यभित्र र त्यसको वरपरका स्थितिको प्रत्यक्षरूपमा अध्ययन गर्नेछ। ती उपकरणले उपलब्ध गराउने आँकडाबाट वैज्ञानिकलाई उक्त ताराका बारेमा ३ वटा आधारभूत प्रश्नको जवाफ दिनमा मद्दत मिल्नेछ।
 पार्कर सोलार प्रोब विगतका कुनै पनि अभियानको तुलनामा ७ गुणा सूर्यनजिकपुग्ने छ। यसले सौर्य कोरोना अर्थात् सूर्यको बाहिरी वायुमण्डललाई लिएर अनुत्तरित रहेका प्रश्नको जवाफ दिनेछ। सौर्य कोरोना सूर्यको सतहको तुलनामा सयौं गुणा तातो हुने गर्छ र वैज्ञानिक अझै पनि यसको कारण पत्ता लगाउन प्रयासरत छन्। त्यसैगरी यो अन्वेषक यानले सूर्यबाट उत्सर्जित हुने ‘सोलार विन्ड’ र ‘स्पेस वेडर’का विषयमा जानकारी उपलब्ध गराउनेमा वैज्ञानिकहरू आशावादी रहेका छन्।