सन्दीपको यात्रा वेस्टइन्डिजतिर


काठमाडौं, (नेस)
नेदरल्यान्डस्मा एकै ओभरमा दुई विकेट लिएर नेपाललाई खेलमा फर्काएका सन्दीप लामिछानेको अर्को यात्रा वेस्ट इन्डिज हुने भएको छ ।

वेस्ट इन्डिजमा बुधबारदेखि शुरु हुने क्यारिबियन प्रिमियर लिग (सीपीएल) मा सहभाििग हुन सन्दीप नेदरल्यान्डस्बाट एन्टिगा गएका हुन् । सेप्टेम्बर १६ सम्म चल्ने सीपीएलमा उनी सेन्ट किट्स एन्ड नेभिस प्याट्रियटसबाट खेल्नेछन् । उनलाई सो टोलीले ५ हजार अमेरिकी डलरमा अक्सनबाट खरीद गरिएको हो ।

हालै नेदरल्यान्डस्मा सम्पन्न वानडे अन्तर्राष्ट्रिय सिरिजमा सन्दीपले २ खेलबाट ४ विकेट लिएका थिए । त्यस्तै यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) मा डेब्यु गरेका उनले ३ खेलबाट पाँचै विकेट हासिल गरे ।

दिल्ली डेयरडेभिल्सले उनलाई २० हजार डलरमा आबद्ध गरेको थियो । यसैगरी उनले गत महिना क्यानडामा भएको ग्लोबल टी २० क्यानडा लिगमा मोन्ट्रियल टाइगर्सबाट ६ खेलमा सहभागि हुँदै ८ विकेट हात पारेका थिए । मोन्ट्रियलमा उनी ४० हजार डलरमा समावेश भएका थिए ।