विवेकशील साझा पार्टीकाे कार्यक्रममा कार्यकर्ताबीच झन्डै हात हालाहाल


नेपाल समाचारपत्र, काठमाडौं ।
विवेकशील साझा पार्टीले प्रदेश नं. ३ को जिल्ला संयोजक मनोनयन गर्न आयोजना गरेको कार्यक्रममा भाँडभैलो भएको छ । काठमाडौँ नयाँ बानेश्वर ब्याङ्क्वेटमा शनिबार आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताहरूबीच झन्डै हात हालाहालको स्थिति सिर्जना भएको हो ।

युवा कार्यकर्ताहरूले पार्टीका शीर्ष तहका नेताहरूले रातारात जिल्ला संयोजक तोकेको, युवाहरूलाई पन्छाएर अरू पार्टी जस्तै उमेर ढल्केका, विभिन्न कानुनी मुद्दामा आरोपित र दलाल प्रवृत्तिका व्यक्तिलाई पार्टी प्रवेश गराएको, लो कतान्त्रिक विधि, मूल्य र मान्यताविपरीत जिल्ला संयोजकहरू तोकेको जस्ता आरोप लगाउँदै युवा नेता, कार्यकर्ताहरूले नाराजुलुस गरेका थिए ।

पार्टीमा पछिल्लो समय प्रवेश गर्नेहरू अरू पार्टीमा अवसर नपाएका, आफूहरूलाई विकास गर्न नसकेको र असक्षम झुन्ड रहेकाले पार्टी अन्य पार्टीभन्दा तल्लो स्तरको बन्दै गएको छ । विवेकशील साझा पार्टी यस्तै हो भने गुणात्मक रूपमा कांग्रेस र कम्युनिस्टभन्दा फरक नरहने विवेकशीलका एक युवा नेताको दाबी रहेको छ । यस्तै हो भने बाहिरी आवरण र भित्री रहस्य अरू पार्टीभन्दा तल्लो स्तरको हुनुले विवेकशील साझाको भविष्य नरहने उनको भनाई रहेको छ ।

 

नेता कार्यकर्ताहरुले आफूहरूले पार्टीको स्थापना कालदेखि निकै योगदान गर्दै आएको तर अहिले आफूहरूलाई पार्टीले उपेक्षा गरेको गुनासो पोखे ।

यद्यपि, संयोजक रवीन्द्र मिश्रले कोलाहलपूर्ण वातावरणका बीच प्रदेश नं. ३ का जिल्ला संयोजकहरू तोक्दै बधाई तथा शुभकामना दिएका थिए ।

 

कार्यक्रममा तनावको स्थिति सिर्जना भएपछि संयोजक मिश्र आत्तिएर बधाई तथा शुभकामना दिँदै कार्यक्रम स्थगित भएको घोषणा गरेका थिए । कार्यकर्ताहरू नाराजुलुस गर्न थालेपछि संयोजक मिश्र निकै आक्रोशित देखिन्थे ।

पार्टीका प्रवक्ता सूर्यराज आचार्यले कार्यकर्तालाई सम्झाउन र बुझाउन खोज्दा उनीहरूहरूले उल्टै आचार्यविरुद्ध ‘युवा अघि सर्छ, देश अगाडि बढ्छ’ भन्ने नारा लगाएका थिए । त्यसपछि केही युवाहरू दगुर्दै एकठाउँमा हुलमूल गर्न पुगेका हुन् ।