पदविहीन भएका परिचालकको गुनासो


जनकपुरधाम ।
विकल्प नदिई पदविहीन बनाइएको गुनासो गर्दै सामाजिक परिचालकले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा पाँच दिनभित्र समस्याको सम्बोधन नभएमा आन्दोलनमा उत्रिने चेतावनी सामाजिक परिचालकले दिएका हुन् । असार महिनाको अन्त्यसँगै आफूहरू पदविहीन भएका कारण भविष्य अन्योलमा परेको उनीहरूले बताएका छन् ।

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा ९२० का अनुसार स्थानीय तहमा सामाजिक परिचालकमा नियुक्त गरिएकोमा २०७४ साल पुस १४ गते राज्यमन्त्रीस्तरीय निर्णयबाट सामाजिक परिचालकलाई अवकाश दिइएको थियो ।

सोको विरोध भएपछि २०७४ चैत १६ गते सामान्य प्रशासन मन्त्रालयले सामाजिक परिचालकहरूलाई स्थानीय तहको वडा कार्यालयमा कार्यालय सहायकको काम गर्ने गराउने गरी २०७५ असार मसान्तपछि केन्द्रीय सरकारको कुनै दायित्व नरहने गरी नियुक्ति दिइएकामा सो म्याद सकिएपछि आफूहरू पदविहीन भएको नेपाल सामाजिक परिचालक कर्मचारी संघ प्रदेश नं २ का अध्यक्ष शिवशंकर मेहताले बताउनुभयो ।

संघको तथ्याङ्कअनुसार असार मसान्तपछि देशभरिका चार हजार ६६४ जना सामाजिक परिचालक पदविहीन भएका छन् । सोमध्ये प्रदेश नंं २ का ८५४ जना वडा कार्यालय सहायक सामाजिक परिचालक पदविहीन भएको जनाइएको छ । संघका प्रदेश सचिव मुकेशकुमार महतोले १० वर्षदेखि कार्य गरिरहेका समाजिक परिचालक पदविहीनपछि अब कहाँ जाने गम्भीर अवस्था आइपरेको बताउनुभयो ।

संघले नेपाल सरकारको सम्पूर्ण सेवासुविधा उपलब्ध गराई हाललाई कार्यालय सहायकमा म्याद थप गरी निरन्तरता दिनुपर्ने र योग्यताका आधारमा एक पटक उमेरको हद नलाग्ने गरी दरबन्दी सिर्जना गर्दै स्थानीय तह कर्मचारीमा समायोजन गर्नुपर्ने माग अघि सारेर आन्दोलन गर्ने जनाएको छ ।
रासस