मृगौला पिडित महिलालाई प्रवासीद्धारा साढे २ लाख सहयोग

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।
दुवै मृगौला फेल भएर पिडित बनेकी यहाँकी एक महिलालाई रोजगारीका लागि विभिन्न मुलुकमा रहेका प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गकी पिडित महिला अमृता शर्मा सितालाई हङकङ र बेलायतमा रहेका प्रवासीहरुले आर्थिक सहयोग गरेका हुन् । युके र हङकङ तथा नेपालमै रहेका विभिन्न सहयोगीबाट संकलित रकम रु २ लाख ५५ हजार रुपैया शुक्रवार एक कार्यक्रम गरी पिडित परिवारलाई हस्तान्तरण गरिएको हो ।
दुर्लुङ समाज यूकेबाट रु.१ लाख १७ हजार ६ सय रुपैयाँ र दुर्लुङ सम्पर्क समाज हङकङबाट रु.१ लाख २ सय ७९, पूर्वमन्त्री क्षेत्रबहादुर गुरुङबाट रु. ७ हजार रुपैयाँ, बिहादी गाउँपालिका बाच्छा निवासी (हाल साउदी) सुमन सिलवालबाट रु.२० हजार, रामबहादुर गुरुङबाट रु.१० हजार सहयोग प्राप्त भएको छ ।
शर्माको अहिले पोखरामा रहेको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ । विपन्न परिवारकी उनि अहिले साताको एकपटक डायलसिस गर्दै जीवन गुजारा गरिरहेकी छिन् ।
दुई सन्तानकी आमा बनिसकेकी अमृताको परिवारले उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेपछि उक्त सहयोग रकम जुटाएर पिडित परिवारलाई हस्तान्तरण गरिएको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार अशोक पौडेलले जानकारी दिए । पौडेलकै पहलमा दुर्लुङ समाज युके र दुर्लुङ सम्पर्क समाज हङकङले अभियाननै संचालन गरेर रकम संकलन गरेका थिए ।
पिडित अमृताका श्रीमान टिकाप्रसाद पाध्याले घरमा पर्याप्त सम्पत्तिको अभाब र आफु समेत बेरोजगार भएकाले उपचारका लागि निकै समस्या भएको गुनासो गरे ।