दैलेखमा बहुविवाह बढ्दो


हिक्मत नेपाली, दैलेख ।
जिल्लाको नारायण नगरपालिका–४ सोतकी २३ वर्षकी चन्द्रा सुनारको विवाह भएको ६ वर्ष पुग्यो । उनका ५ सन्तान जन्मिसके । विवाह भएको पछिल्लो वर्ष पहिलो छोरा, तेश्रो वर्षमा अर्को एक छोरा अनि पाँचौ वर्षमा चाहिँ जुम्ल्याहा २ छोरी भए ।
जुम्ल्याहा छोरीहरु गएको चैतमा वर्ष दिनका भएका थिए, गएको वैशाखमा पाँचौ सन्तान छोरा जन्मियो । छोरा जन्मेको पनि ४ महिना पुग्दैछ, यी भएकै छोराछोरी सम्हाल्न चन्द्रालाई हैरानी छ तर उनका पति बसन्त सुनारले २१ वर्षकी एक युवतीलाई दोश्रो पत्नीको रुपमा भित्र्याएका छन् । शुक्रबार नारायण नगरपालिका–१० भवानीकी संगीता बिकलाई दोश्रो पत्नीको रुपमा भित्र्याएर पनि भारत लैजाँदै गर्दा सुर्खेत पुगेकाले उनीहरुलाई पक्राउ गरी कानुनी कारबाही चलाई पाऊँ भनी पीडित चन्द्रा जिल्ला प्रहरी कार्यालय दैलेखमा सहयोगको याचना गर्दै हुनुुहुन्थ्यो ।
घरमा छोड्न सकिने २ वटा सन्तान आफन्तलाई रेखदेख गरिदिन भनेर ३ वटा दूधे सन्तानहरु लिएर जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा चन्द्रा पुगेको बेला यस्तै अर्को घटना दैलेखकै महाबु गाउँपालिका–३ बाँसीकी बिजया नेपाली पनि आफ्नो पति प्रेमबहादुर नेपालीले अर्कै युवती लिएर भारत जान शुक्रबार नै हिँडेकोले खोजतलास गरीदिन उजुरी लिएर प्रहरीमा पुग्नुृभएको थियो ।
यस्तै तेश्रो घटना गुराँस गाउँपालिका–४ तालपोखरीका २६ वर्षीय बिष्णुबहादुर शाही र नारायण नगरपालिका–३ प्यूसेकी २१ वर्षीया गीता गुरुङले बहुविवाह गरेका भनी जेठी पत्नी सुनिता मल्लले दिएको उजुरीका आधारमा प्रहरीले आजै पक्राउ गरेको छ ।
बहुविवाहको उत्पीडनमा दैलेखी महिलाहरु पीडित छन् भन्ने कुरा एकै दिन भएका यी प्रतिनिधि घटनाहरुले जनाउँछन् । कानुनले विवाह गर्न तोकेको उमेर २० वर्ष पुग्दा कम्तीमा १–२ बच्चाहरु जन्माइसक्ने अनि आर्थिक अभावमा पारिवारिक कलह सुरु भएर यहाँका महिलाहरु अधिकांशले सम्वन्ध बिच्छेद वा बहुविवाहको पींडा भोग्न बाध्य भएका छन् ।
एकै दिन बहुविवाह भएको भनी ठाडो निवेदन ३–४ वटा घटना जानकारी हुने गरे पनि प्रहरीले पक्राउ गरिसकेपछि पीडित महिलाले नै आफूले सम्वन्ध विच्छेद गरेर कान्छी हुन आउनेलाई साजिलो बनाइदिने गरेको कारण बहुविवाहका मुद्दा चाहिँ मुश्किलले वर्ष भरी ८–१० वटा मात्र चल्ने गरेका छन् । बहुविवाह जस्ता सरकारवादी मुद्दामा समेत राजनीतिक हस्तक्षेप र सामाजिक दबाब सिर्जना गरिने भएको कारण केही आर्थिक प्रलोभनमा मुद्दा चल्न नसक्ने गरेको अधिवक्ता गोपाल बिराजी बताउँछन् । यसले कानून कार्यान्वयनमा चुनौती थपेको छ, अधिवक्ता बिराजीले भने ।
सानैमा विवाह गरेकै कारण बीचैमा अध्ययन रोकिने तथा शिक्षाको अभावमा रोजगार वा आत्मनिर्भर स्वरोजगारीका सीप, ज्ञान समेत नहुँदा आर्थिक कठिनाईले पारिवारिक कलहले सम्वन्ध विच्छेद वा बहुविवाहको अवस्था सिर्जना गर्ने गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सरोज पौडेलको भनाई छ ।
वैदेशिक रोजगारीले परिवार सँगसँगै बस्न नपाएकोले सम्वन्ध विच्छेद वा बहुविवाहको क्रम बढेको महिला तथा बालबालिका कार्यालय दैलेखका निमित्त महिला विकास अधिकृत माधुरी न्यौपानेको बिश्लेषण छ । ‘यो बालविवाहकै उपज हो, उनले भनिन् ।
महिलाहरु आत्मनिर्भर हुन नसक्नुले केही पुरुषहरुले बहुविवाह गर्ने गरेको न्यायिक समितिमा सूचना आउने गरेका र त्यस्ता मुद्दा कानूनी प्रक्रियामा लैजान प्रहरीमार्फत अदालत पठाउने गरेको गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा बीसीले बताइन् । सामाजिक सञ्जालको दुरुपयोगले यो विकृति फैलिएको उनको भनाई छ ।
मदिराले घरेलु हिंसा बढाएको र यसैको कारण सम्वन्ध विच्छेद र बहुविवाहको अवस्थासम्म पुग्ने गरेको भैरबी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्टले बताइन् । यी समस्याको उचित समाधान बारे उनले भनिन, ‘कानुन कार्यान्वयन प्रभावकारी बनाइनुपर्छ ।’ अहिलेसम्म चलिरहेको मुलुकी ऐन २०२० को विवाहवारी महल १० नम्वरले बहुविवाह गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजार रुर्पैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानूनी व्यवस्था छ । २०७५ भदौ १ गतेदेखि लागू हुने ‘मुलुकी अपराध सहिंता ऐन २०७४’ को दफा १७५ मा बहुविवाह गर्ने कसूरदारलाई गरिने सजाय बढाएर एक वर्षदेखि पाँच वर्षसम्म कैद वा १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानूनी प्रावधान राखिएको छ ।