हजको कोटा १२ सयमै सीमित


नेपाल समाचारपत्र, काठमाडौं ।
साउदीको मक्कामदिनामा हज गर्न जाने नेपालीको संख्यामा यसपालि पनि वृद्धि गरिएन । सधैंको जस्तै १२ सयको कोटा निर्धारण गरिएको छ ।
गृह मन्त्रालय अन्तर्गत रहेको हज समितिले नै उनीहरुलाई पठाउने गर्छ । नेपाल जामे मस्जिदका सचिव मन्सुर हुसेनले साउदीले छुट्याइदिएको कोटा थोरै भएकाले थप गर्न आग्रह गर्नुभएको छ । ‘ पुरानै संख्या निर्धारण गरिएको छ, नेपालको लागि यो अत्यन्तै थोरै हो ’ उहाँले भन्नुभयो ‘ हज गर्न जानेको रुची बढिरहेकाले पनि संख्या थपिदिन भनेका हौं, मुस्लिमको जनसंख्या ४ दशमलव ७ प्रतिशत भएकाले सीमित कोटाले भ्याउँदैन ।’ मुस्लिम समुदायबाहेक अरुले हज गर्न जान पाउँदैनन् । मंगलबारसम्म हज गर्न साउदीतर्फ जाने छन् । प्रतिव्यक्तिको २ लाख २५ हजार रुपैंया लाग्ने छ । यात्रुले यो पैसा बुझाएपछि अन्य प्रक्रिया भने हज समितिले नै गर्ने प्रचलन छ ।
मस्जिदका अध्यक्ष मोहम्मद सामिमले झण्डै २ हजारभन्दा बढीले वर्षेनि फारम भरेको हुँदा धेरैले हज गर्ने अवसर नपाएको गुनासो गर्नुभयो । ‘ सबैलाई जान मन लाग्छ तर कोही पनि मनखुशी आफैं जान पाउँदैन यही समस्या हो ’ सामिमले भन्नुभयो ‘ हज गरेपछि एउटा लक्ष्य प्राप्ति हुने भएकाले यसलाई निकै महत्वका साथ हेरिन्छ ।’ जिल्ला प्रशासन कार्यालयमा भरेका फारम गृह मन्त्रालय आइसकेपछि हज समितिले कसलाई पठाउने भन्ने निर्णय गर्ने छ । गृह मन्त्रालयले हज समिति अध्यक्षलाई सुविधासहित जिम्मेवारी दिएको छ ।
झण्डै ४५ दिन लामो बसाइमा हजयात्रीहरुले १ महिनासम्म विभिन्न अध्ययन गर्नुका साथै अन्य प्रक्रियाहरु पूरा गर्ने गर्छन् । अन्तिम ५ दिनमा पैदल यात्रा गरेर हज गर्न जानुपर्ने भएकाले बृद्धबृद्धाका लागि भनें कष्टकर रहेको मस्जिदका सचिव हुसेनले जनाउनुभयो । ‘ बालिग भएपछि मात्र जान मिल्छ, स्वास्थ्यमा समस्या भएको व्यक्ति जान सम्भव छैन ’ उहाँले भन्नुभयो ‘ विश्वभरका मानिसहरुले एकैपटक हज गर्ने भएकाले त्यो बेला भींडभाड हुने गर्छ अलिकति असहज भयो भने भीडमा च्यापिने र हराउने खतरा हुन्छ ।’