स्टिव जब्सबाट कुनै सहयोग पाइनँ ः छोरी लिसा


लसएन्जलस, (एजेन्सी)
स्कुलमा उनले गौरवका साथ भनिन् उनका पिता स्टिव जब्स हुन्। उनी अत्यन्तै चर्चित हुन्। उनले पर्सनल कम्प्युटर आविष्कार गरे, उनी एउटा ठूलो घरमा बस्छन् र कनभर्टिवल पोर्स गाडी चलाउँछन्। जब उनको गाडीमा केहीले कोरेको दाग बस्छ, उनी नयाँ गाडी किन्छन्।

यद्यपि लिसा ब्रेनन जब्सको आफ्नो पितासँगको सम्बन्ध धेरै सुखद थिएन। लिसा ब्रेनन जब्स विश्वको सबैभन्दा ठूलो कम्पनीमध्यको एक एप्पलका संस्थापक स्टिव जब्सकी छोरी हुन्। उनले आफ्नो पितासँगको सम्बन्धमा ‘स्मल फ्राई’ नामक एक किताब लेखेकी छिन्।
उक्त किताबमा उनले एक छोरी र उनीसँग टाढिएका पिताबीचको चिसो सम्बन्धको जटिलतालाई कोट्याएकी छिन्। स्टिव जब्सले शुरूमा उनलाई आफ्नो छोरी मान्न अस्वीकार गरेका थिए।

लिसा ब्रेननले बेनिटी फेयर म्यागाजिनमा लेखेको एक लेखमा उक्त किताबको केही अंश प्रकाशित गरेकी छिन्। यसमा स्टिव जब्स र उनीबीचको सम्बन्ध उल्लेख गरिएको छ।

आफ्ना पिताकी प्रिय छोरी बन्ने अथक प्रयासमा उनले जुन निरासा, भावनात्मक पीडा र एक्लोपना पाइन्, त्यसको उल्लेख उनले यस किताबमा गरेकी छिन्। यद्यपि पिता र छोरीबीचको सम्बन्ध समयसँगै राम्रो हुँदै पनि गयो तर दुईबीच निकटता भने कहिल्यै हुन सकेन।
स्टिव जब्सको सन् २०११ अक्टोबर ५ मा प्यान्क्रियाटिक क्यान्सरका कारण निधन भएको थियो। उनको जिन्दगीको अन्तिम वर्षमा लिसा ब्रेनन जब्स उनीसँग भेट्न प्रायः जाने गर्थिन्। यस्तै एक भेटका विषयमा उनले लेखेकी छिन्– ‘उनी सर्टस लगाई ओछ्यानमा थिए। उनको खुट्टा खुलै थियो र हात पातलो भइसकेको थियो। उनी एक किसिमले सुकिसकेका थिए।’

‘उनलाई बिदा भन्नुअगाडि मैले एक सुगन्धित स्प्रे प्रयोग गरें। फेरि म उनको बेडरुममा गएँ, उनी विस्तारै उठे र मलाई अँगालो हाले। मैले उनको सुकेको शरीर र हाडको महसुर गरें।’ –उनले लेखेकी छिन्। ब्रेनन जोनसनले प्रत्येक सप्ताहन्तमा आफ्ना रोगी पितासँग मिल्न र आफ्नो सौतेली आमा लोरिन पावेल र ३ सौतेला भाइ–बहिनीसँग घुलमिल गर्ने प्रयास गरेकी थिइन्।

उनले लेखिन्– ‘मैले फिल्ममा जस्तो कुनै ठूलो पुनर्मिलनको सम्भावनाको आशा छोडिसकेको थिएँ। तर फेरि पनि म उनीसँग भेट्न जाने गर्थें।’ उनकी आमाले एक साथीको फर्म हाउसमा उनलाई जन्म दिएकी थिइन् र स्टिव जब्स पनि त्यहाँ उपस्थित थिए। यद्यपि उनकी आमाले उनको पिता को हो भन्ने कसैलाई बताएकी थिइनन्।

ब्रेनन जब्सले लेखेकी छिन्– ‘म दुई वर्ष हुन्जेल मेरी आमाले सामाजिक राहतबाहेक भाँडा माझेर र नोकरी काम गरी घर चलाइरहिन्। मेरो पिताबाट उनले कुनै सहयोग पाएकी थिइनन्।’

सन् १९८० मा क्यालिफोर्नियाको सेन्ट मेटियो काउन्टीका डिस्ट्रिक्ट जजले मेरो पितासँग दैनिक गुजारा भत्ता दिन भने। उनले कबुलनामामा झुठो बयान दिए, उनी मेरो पिता होइनन् र उनी पिता नै बन्न नसक्ने बताए। उनले अरू नै व्यक्तिको नाम दिएर उसलाई मेरो पिता भएको बताए। तर डीएनए टेस्टमा स्टिव जब्स नै लिसा ब्रेननका पिता भएको पुष्टि भयो र अदालतले उनलाई ५ सय डलर प्रतिमहिना जीवनयापन भत्तालगायत सामाजिक बीमाको खर्च बेहोर्न पनि भनियो। ‘अदालतमा यो मामिला सन् १९८० डिसेम्बर ८ मा टुंगियो। वकिलहरू मुद्दा टुंग्याउन दबाब दिइरहेका थिए। यसको ४ दिनपछि एप्पल सार्वजनिक कम्पनी बन्यो र त्यसको भोलिपल्ट मेरो पिताको सम्पत्ति २० करोड डलरभन्दा धेरै थियो।’ लिसा ब्रेननको वृत्तान्तको सबैभन्दा प्रभावशाली हिस्सा भने गाडीसँग सम्बन्धित प्रसंग हो। ब्रेनन जब्सले आफ्नी आमाबाट सुनेकी थिइन् कि उनका पिता आफ्नो पोर्स गाडीमा केहीले कोरियो भने त्यसलाई फेर्छन्। जीवनको एउटा समय त्यस्तो पनि थियो, लिसा किशोरी थिइन्। त्यतिबेला हप्ताको एक दिन जब्सको घरमा बस्नुपथ्र्यो, किनभने उनकी आमालाई सान फ्रान्सिस्कोको कलेजमा जानुपथ्र्यो।
एक दिन लिसाले स्टिव जब्सलाई जब पोर्स गाडी उनलाई काम लाग्दैन भने त्यो आफूले लग्न सक्छु भनी सोधिन्। स्टिव जब्सले भने– ‘सक्दैनौ।’ उनको आवाजमा कठोरता थियो जसले लिसालाई अत्यन्तै चोट पुगेको थियो। जब उनी घर पुगे तब स्टिव जब्सले गाडीको इन्जिन बन्द गरे र भने– ‘तिमीले केही पनि पाउँदैनौ, थाहा पायौ, केही पनि पाउँदैनौ।’

ब्रेननले उनका पिता अलिकति पनि खुला ह्दयको नभएको लेखेकी छिन्– ‘न त पैसामा, न त खानमा र न त शब्दको मामिलामा नै।’

क्रिशन ब्रेनन गर्भवती हुँदा जब्सले एक कम्प्युटरमा काम गर्न थालेका थिए। उनले पछि उक्त कम्प्युटरको नाम लिसा राखे। यो म्याकिन्टोसभन्दा पहिलाको थियो। यो पहिलो त्यस्तो कम्प्युटर थियो जसमा माउस बाहिरबाट लगाइन्थ्यो। यो अत्यन्तै महँगो थियो र व्यावसायिकरूपमा असफल भएको ब्रेनन जब्सले बताइन्। जब लिसा सानी थिइन्, त्यतिबेला उनलाई लागेको थियो कि उनका पिताले उनको सम्मानमा उक्त कम्प्युटरको नाम राखेका थिए।

एक दिन लिसाले सीधै आफ्नो पितासँग यसको विषयमा सोध्दा उनले त्यस्तो नभएको जवाफ दिएका थिए। यद्यपि एकपटक जब उनी आफ्नो पितासँग एक जहाज यात्रामा गएकी थिइन्, त्यतिबेल यू–२ ब्यान्डका गायक बोनेले त्यही प्रश्न सोधका थिए। त्यतिबेला भने स्टिव जब्सले लिसा कम्प्युटरको नाम लिसाकै नामबाट लिएको जवाफ दिएका थिए।