मेकअपमा लक्ष्मी विजयी

14
Shares

ब्राइडल मेकअप कम्पिटिसन–२०१८ को उपाधि चितवनकी मेकअप आर्टिस्ट लक्ष्मी पौडेल पोखरेलले जितेकी छन्। काठमाडौंमा लक्ष्मीले उत्कृष्ट भएबापत ११ हजार १ सय ११ रुपियाँसहित क्राउन र विभिन्न उपहार प्राप्त गरेकी छन्। प्रतियोगितामा महाराजगन्ज काठमाडौंकी मेकअप आर्टिस्ट शोभा श्रेष्ठ फस्ट रनर्सअप हुँदै ६ हजार ६ सय ६६ रुपियाँ र कालिमाटी काठमाडौंकी शोभा बस्नेत सेकेन्ड रनर्सअप हुँदै ४ हजार ४ सय ४४ रुपियाँसहित विजयी भए।

ब्युटी न्युज नेपालको प्रस्तुति रहेको प्रतियोगिताको निर्णायकमा ब्युटिसियनद्वय डा. राजश्री श्रेष्ठ, ब्युटिसियन रश्मिला श्रेष्ठ, नेपाल कस्मेटिक व्यवसायी संघका अध्यक्ष रञ्जित पौडेल, नेचर इसेन्स÷करल इसेन्सका कन्ट्री निर्देशक रमेश उप्रेती र मेकअप आर्टिस्ट श्याम बराल थिए।

मेकअप आर्टिस्ट तथा ब्युटिसियनहरूको बेहुली शृंगार कलालाई बाहिर ल्याउन यो एकदिवसीय प्रतियोगिता गरिएको आयोजकले जनाएका छन्।

ब्युटिसियन डा. राजश्री श्रेष्ठले हिजोआज बेहुली पनि शृंगारमा राम्रो हुनुपर्ने प्रचलन बढेकाले यस्ता प्रतियोगिताले ब्युटिसियनलाई बेहुली शृंगारमा दक्ष र सफल बनाउन मद्दत पुर्याउने चर्चा गरिन्। आयोजक सुमित्रा रञ्जितकारले कार्यक्रममा बेहुली शृंगार निकै जटिल कार्य भएको र बेहुली शृंगारको पनि प्रतिस्पर्धा बढ्न थालेकाले मेकअप आर्टिस्टलाई अझ दक्ष बनाउन ब्राइडल मेकअक प्रतियोगिता गरिएको बताइन्।

आयोजकमध्येकी सोनी कारञ्जितले प्रतियोगी सबैले राम्रो काम गरेको र यसले ब्राइडल मेकअप अझ कसरी राम्रो गर्ने भन्ने अनुभव मेकअप आर्टिस्टलाई गराएको बताइन्। ब्युटी सेक्रेट ब्युटी सलुन खिचापोखरी, रोज सिप विकास तामिल केन्द्र रवि भवन, रविना ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर पेप्सीकोला, कलंकी ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कलंकी, ओम शान्ति ब्युटी सलुन सल्लाघारी र विक्षण क्रिएसनले यो प्रतियोगिताको आयोजना गरेको हो।