बक्स अफिस लागे पनि फर्जी टिकट !

0
Shares

नेपाल चलचित्र पत्रकार संघले बिहीबार राजधानीमा एक कार्यक्रम गरी गत साउन १ बाट लागू भएको बक्स अफिस प्रणालीमाथि बहस चलाएको छ।

बहसमा चलचित्र विकास बोर्डले आगामी ३ महिनाभित्र फिल्म व्यवसायीले रियल टाइम डाटा कलेक्सन हेर्न पाउने जनाएको छ। बोर्डकी अध्यक्ष निकिता पौडेलले केही प्राविधिक समस्याका कारण रियल टाइममा रिपोर्ट हेर्न समय लाग्ने बताइन्। ‘सफ्टवेयरको समस्या सुल्झिसकेको छ, हल व्यवस्थापनको पाटोमा केही समस्या देखा परेका छन्, जुन सुल्झन ३ महिना लाग्न सक्छ’ –पौडेलले भनिन्। विकास बोर्डका बक्स अफिस कन्सल्ट्यान्ट मनिष पण्डितले अहिले १ घन्टा ढिला गरी रिपोर्ट आइरहेको बताए।

भैरे फिल्मका निर्माता निर्देशक एभरेस्ट सूर्य बोहराको बक्स अफिस लागू भएपछि पनि दर्शकले फर्जी टिकट काटेर हलमा प्रवेश गरेको फेला पारेको गुनासोमा पौडेलले अनौपचारिकरूपमा यो समस्याका बारेमा जानकारी भए पनि सम्बन्धित पक्षबाट लिखित उजुरी नआउँदा कारबाही गर्न अफ्ठेरो परेको बताइन्। नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बोर्डले ३ हप्ताको समय माग गरेकाले देखिएका समस्यामाथि प्रतिक्रिया नजनाएको बताए। उनले निर्मातालाई बक्स अफिसका विषयमा आवश्यक जानकारी दिन ओरिएन्टेसन कक्षाको तयारी गरिरहेको समेत बताए।

नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप उदयले नेपालमा लागू बक्स अफिस विश्वमै सरकारका तर्फबाट लागेको पहिलो बक्स अफिस भएको चर्चा गर्दै नियत सफा नभएसम्म सानातिना समस्या आइरहने बताए। ‘धेरै साथीले हलमा मात्रै समस्या छ भन्ने हिसाबले आफ्नो कुरा राख्नुभयो, त्यो सही हैन। नेपालमा नीतिको कुरा मात्र गरेर हुन्न। व्यावहारिक छ कि छैन भन्ने कुरा पनि हेर्नुपर्छ’, उदयले भने– ‘नेपालका त्यस्ता ठाउँमा पनि हल छन्, जहाँ फोन र इन्टरनेटको सुविधा छैन। अब यस्ता ठाउँबाट हिसाब तुरुन्तै आएन भनेर कचकच गर्नु राम्रो होइन। बक्स अफिसको शुरुआत भएको छ। यो आउनेबित्तिकै पूर्ण हुन्छ भन्ने नठानौं।’