भूमिसम्बन्धी सबै समस्या समाधान गरिनेः मन्त्री अर्याल


काठमाडौँ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमाकुमारी अर्यालले भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न आफूले हदैसम्मको प्रयास गर्ने बताउनुभएको छ ।

सिंहदरबारस्थित आज आफ्नै कार्यकक्षमा पदभार ग्रहण गरेपछि उहाँले भूमिसँग जोडिएका समस्या समाधानका लागि कानून बनाएर विशेष पहल गर्ने र त्यसका लागि सबैको साथ सहयोग जरुरी रहेको बताउनुभयो ।

मन्त्री अर्यालले अर्थतन्त्रको प्रमुख आधारका रुपमा रहेको सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै सहकारीमा छरिएर रहेको पूँजीलाई एकीकृतरुपमा परिचालन गर्ने बताउनुभयो ।

गरिबी निवारणका लागिसमेत सहकारीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै उहाँले भन्नुभयो “गरिबी निवारणको प्रमुख आधारका रुपमा सहकारी क्षेत्रलाई परिचालन गर्ने र व्यवस्थित गर्ने योजनामा हामी लाग्छौँ, अर्थतन्त्रको प्रमुख आधारसमेत रहेकाले यस क्षेत्रलाई बढी महत्वसमेत दिन्छाँै ।”

मन्त्री अर्यालले वर्तमान सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्प पूरा गर्ने दिशामा नै केन्द्रित हुने बताउनुभयो ।

मन्त्री अर्याललाई सचिव गोपीनाथ मैनालीलगायत मन्त्रालयका कर्मचारीले स्वागत गर्दै सफल कार्यकालको कामना गर्नुभएको थियो ।

पदभार ग्रहणलगत्तै मन्त्री अर्यालले भूउपयोग कार्ययोजना कार्यान्वयन गर्ने कार्यदल गठनसम्बन्धी प्रस्तावमा हस्ताक्षर गर्नुभयो ।

सो कार्यदलको संयोजकमा मन्त्रालयका सहसचिव जनकराज जोशी रहनुभएको छ । भूमिको उत्पादन र उपादेयताका लागि सो कार्यदलले काम गर्नेछ ।
रासस