गौरीशङ्कर गाँउपालिकामा इप्रका स्थापना


चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको गौरीशङ्कर गाँउपालिकामा इलाका प्रहरी कार्यालय स्थापना भएको छ । गौरीशङ्कर गाँउपालिका वडा नम्बर ६ गुरुम्फीमा स्थापना भएको इलाका प्रहरी कार्यालयको उद्घाटन प्रहरी नायव उपरीक्षक बासुदेव पाठकले गर्नु भएको थियो ।
नेपाल सरकार मन्त्री परिषदको जेठ १७ गतेको बैठकले स्वीकृत गरेको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७५ अनुसार दोलखाको गौरीशङ्कर गाँउपालिकामा इलाका स्तरीय प्रहरी कार्यालय स्वीकृत भएपछि आवश्यक जनशक्ति सहित कार्यालयको उद्घाटन गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गुरुम्फीले गौरीशङ्कर गाँउपालिका वडा नम्बर ४, ५, ६ र ७ तथा वडा नम्बर ८ को केहि भागलाई हेर्ने जनाईएको छ । गाँउपालिकामा इलाका प्रहरी कार्यालय स्थापना भएपनि पालिकाका वासिन्दाले शान्ति सुरक्षाको प्रत्याभूति गर्न सक्ने विश्वास लिईएको गाँउपालिका प्रमुख स्वयमबहादुर खड्काले बताए । इलाका प्रहरी कार्यालय गुरुम्फी प्रहरी निरीक्षकको कमाण्डमा सञ्चालन हुने जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।