असोज २ को समयसीमालाई ख्याल गरी कानून निर्माण गरिने: कानूनमन्त्री ढकाल


काठमाडौँ ।
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानून निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

आज सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उहाँले आगामी असोज २ गतेभित्र सबै कानून निर्माण नगरे मुलुकमा संवैधानिक र कानूनी जटिलता आउन सक्ने पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

कानून निर्माणले गति लिन नसक्दा संघीय संसद् ‘विजनेश’विहीन भएको बताउँदै उहाँले मन्त्रालयका तर्फबाट यसमा विलम्ब भयो भन्ने कुराको प्रश्न उठाउन नदिनेतर्फ आफू लाग्ने र त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गर्नुभयो ।

नसोचेको परिस्थितिपछि आफू यस मन्त्रालयमा आएको बताउँदै उहाँले बोल्नेभन्दा पनि काम नै पहिलो प्राथमिकता हो भन्नुभयो ।

मन्त्री ढकाललाई स्वागत गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले कानून निर्माणका लागि मन्त्रालय अहिले दिनरात नभनी खटिरहेको बताउनुभयो ।

बंगलादेशमा एमबिबिएस अध्ययनरत नेपाली छात्राहरुबारे विवादास्पद अभिव्यक्तिपछि तत्कालीन कानूनमन्त्री शेरबहादुर तामाङले गत मंगलबार राजीनामा दिएपछि कानून मन्त्रालय मन्त्रीविहीन थियो ।

नवनियुक्त मन्त्री ढकाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा ९एमाले०का तर्फबाट मोरङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको हो । नेकपा ९माओवादी केन्द्र० र एमाले एकीकरणसँगै अहिले उहाँ नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।
रासस