भीमदत्तमा फोहरबाट उर्जा उत्पादन गरिने


हरकसिंह धामी, कञ्चनपुर ।
भीमदत्त नगरपालिकामा फोहरबाट उर्जा उत्पादन गरिने भएको छ । वैकिल्पक उर्जा प्रवद्र्धन केन्द्रसित सहकार्य गरी वायोग्याँस प्लान्ट बनाउन लागिएको हो । गत वर्ष भीनपा र केन्द्रबीच कुहिने फोहरबाट उर्जा उत्पादनका लागि सम्झौता भएको थियो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको परामर्शदाताले भीनपाका वडा नं. ३, ८, ९ र १८ मा सम्भाव्यता अध्ययन गरेको छ ।

अहिले सम्झौता अनुसार वायोग्याँस प्लान्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गरिएको भीनपाको क्षेत्रीय सहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाईका वातावरण अधिकृत पदमराज जोशीले बताए । ‘नगरपालिका र वैकल्पिक उर्जा केन्द्रबीच उर्जा उत्पादनका लागि सम्झौता गरिएको थियो, सोही सम्झौता अनुसार केन्द्रले परामर्शदाताबाट नगरपालिकाका चार वडामा सम्भाव्यता अध्ययन गराएको छ’ वातावरण अधिकृत जोशीले भने ।
केन्द्रका वायोग्याँस विशेषज्ञ उत्तम झा नेतृत्वको टोलीले सम्भाव्यता अध्ययन गरेको हो । टोलीमा सस्टेनेबल इनर्जी एण्ड रेजिलेन्ट आइडियाजका कार्यकारी प्रमुख विकास अधिकारी, इन्जिनियर प्रतापजङ्ग राई सहभागी भएका छन् । अवलोकनमा भीनपा वडा नं. १८ का अध्यक्ष राजेन्द्र पाण्डेय, वडा नं. ९ का अध्यक्ष राम नाथ, वडा नं. ८ का अध्यक्ष ध्वज बहादुर विष्ट, वन तथा वातावरण अधिकृत जीवछ यादव, फोहरमैला शाखा प्रमुख रघुवर भट्ट र रघुबीर विष्ट स्थलगत अवलोकनमा सहभागी भए । यसैगरी अवलोकनमा क्षेत्रीय सहरी विकास आयोजनाका वातावरण अधिकृत जोशी र सामाजिक विकास अधिकृत गोमती अवस्थी पनि सहभागी भएका छन् ।

अवलोकनमा क्रममा चार ओटै वडाका स्थानीयसित वायोग्याँस उत्पादन सम्बन्धी सुझाव लिइएको छ । केन्द्रका विशेषज्ञ झाले स्थलगत अवलोकनका क्रममा देखिएका सबै जानकारीका आधारमा विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार गरिने बताए । स्थलगत अवलोकन अघि केन्द्रको टोलीले भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टसित पनि छलफल गरेको थियो । टोलीसित छलफलका क्रममा नगर प्रमुख विष्टले उर्जा उत्पादनका लागि नगरपालिकाबाट हुने सबै सहयोग गरिने प्रतिवद्धता जनाए ।

नगरपालिकामा बढ्दो जनसंख्याको चापको अनुपातमा उत्पादन हुने फोहरबाट आउने चुनौती सम्बोधनका लागि उर्जा उत्पादन उपयुक्त विकल्प भएको बताए । ‘जनसंख्याको चाप बढ्दो छ, यस अनुसार फोहर पनि बढ्दै जान्छ’ नगर प्रमुख विष्टले भने,‘त्यस्तो बढ्ने समस्यालाई सम्बोधन गर्न उर्जा उत्पादन गर्न लागिएको छ, यसका लागि नगरपालिका केन्द्रलाई पूर्ण रुपमा सहयोग गर्न तयार छ ।’
भीमदत्त नगरपालिकाको महेन्द्रनगर बजार सहित विभिन्न स्थानबाट दैनिक ५ टनजति फोहर निस्कने गरेको छ । यसमा ४० प्रतिशत कुहिने फोहर निस्कने गरेको छ । कुहिने फोहरमा भान्छाको फोहर, सब्जीमण्डीका तरकारी, फलफूल, कागज, काठका टुक्रा लगायतका छन् ।