योजनाबद्ध विकासमा लागौँः अध्यक्ष तिमिल्सिना



पर्वत ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सबै स्थानीय तहले योजनाबद्ध विकासमा लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

पर्वतको कुस्मा नगरपालिकाले आज आयोजना गरेको ‘कुस्मा नगरपालिका–विकासका सम्भावना, अवसर र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “योजनाबद्ध विकास गर्दा मात्रै स्थानीय तहले आफ्नो लक्ष्य प्राप्त गर्न सकिन्छ ।”

अध्यक्ष तिमिल्सिनाले गुरुयोजना, आवधिक योजना र तत्कालीन कार्ययोजना बनाउने काम आजैबाट थाल्न स्थानीय तहलाई सुझाव दिदैं योजनाबद्ध विकास भएन भने पाँच वर्षमा उपलब्धिमूलक काम गर्न सकिँदैन भन्नुभयो ।

यहाँका स्थानीय तहले बनाएका विकास योजना कार्यान्वयनका लागि संघीय सरकार र दातृ निकायबाट सक्दो सहयोग जुटाउन आफू सधैँ अग्रसर हुने आश्वासन पनि उहाँले दिनुभयो ।

“तपार्इंहरुले नगर र गाउँ विकासका योजना बनाउनुस्, त्यसका लागि सहयोग जुटाउन मेरो ठाउँबाट पनि पहल गर्छु”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “सबै मिलेर काम ग¥यौँ भने पर्वतका सबै स्थानीय तह मुलुकमै नमूना बन्न सक्छन् ।”

उहाँले दुई वटा राष्ट्रियस्तरका सडक र कालीगण्डकी बहुद्देश्यीय जलविद्युत् परियोजना अघि बढाउने काम भएको उल्लेख गर्दै यसले पर्वतको विकास र समृद्धिमा ठूलो सहयोग पु¥याउने बताउनुभयो ।

नवलपरासीको त्रिवेणी हुँदै कालीगण्डकी किनारैकिनार पर्वतको सेतीवेणीबाट कुस्मा, बेनीदेखि कोरल्ला जोड्न त्रिवेणी कोरल्ला प्रदेशस्तरीय गौरवको सडक र रिडीबाट सेतीवेणी हुँदै डाँडा पोखरा पुग्ने सडक निर्माणका लागि बजेट विनियोजन भएको छ । त्रिवेणीबाट पर्वत हुँदै कोरल्ला पुग्ने सडक कालीगण्डकी करिडोरभन्दा ११० किलोमिटर छोटो छ ।

कुस्मादेखि कल्लेरी हुँदै बलेवा जोड्ने सडक र कालीगण्डकीमा पुल निर्माणका लागिसमेत बजेट विनियोजन भएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

पूर्वसांसद अर्जुनप्रसाद जोशीले टुक्रे योजनाभन्दा दीर्घकालीन योजना बनाउँदा कुस्माको विकास गर्न सकिने बताउँदै नगरपालिकाले छलफल शुरुआत गरेर राम्रो काम गरेको छ भन्नुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्