टेलिफोन मार्फत प्रधानमन्त्रीले गरे एप्लिकेशनको उद्घाटन



मोतीराम तिमल्सिना, काभ्रे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले धुलिखेल नगरपालिकाको मोवाईल एप्लिकेशन टेलिफोन गरी शुभारम्भ गरेका छन् । काठमाडौको सोल्टी होटलबाट प्रधानमन्त्री ओलीले कर्मचारीलाई टेलिफोन गरी उक्त एप्लिकेशनको शुभारम्भ गरेका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र फ्रोष्ट एण्ड सुलिभानद्वारा आयोजित ‘डिजिटल नेपाल कन्फरेन्स’ को शुभारम्भकै बीचमा स्थानीय सरकारहरुमा प्रयोग गर्न लागिएको एप्स धुलिखेल नगरपालिकामा शुभारम्भ गरिएको हो । प्रधानमन्त्री ओलीले डिजिटल नेपाल बनाउने अभियानमा स्थानीय सरकारहरुलाई डिजिटल सरकार बनाउने प्रयास स्वरुप तयार गरिएको एप्सको उद्घाटन गरेका थिए । ‘डिजिटल नगरपालिका बनाउने कदमको शुरुवात एप्सबाट भएको छ’–प्रमुख प्रशासकिय अधिकृत महेश बरालले भने–‘संचार तथा सूचना प्रविधि मन्त्रालय र मन्त्री गोकुल बास्कोटाको विशेष पहलमा धुलिखेल नगरपालिकामा उक्त एप्लिकेशन तयार भएको हो ।’
एप्लिकेशनमा नगरपालिकाले प्रदान गर्ने सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो, समस्या दर्ता, वडा वितरण, महत्वपूर्ण स्थानहरु, जनमत लगायतको फिचरहरु समावेश गरिएका छन् । आवश्यकता अनुसार उक्त एप्समा फिचरहरु थप्न सकिने बरालले बताए । नागरिकहरुले नगरपालिकाले प्रदान गरेका सेवामा प्रत्यक्ष कुरा समेत गर्न सक्ने उक्त एप्सको प्रयोगले नगरपालिकाले योजना निर्माण देखि कार्यान्वनसम्म हुने अपेक्षा गरिएको छ । नगरपालिकाले धुलिखेल बुझ्न चाहनेहरुका लागि र घुम्न चाहनेहरुका लागि सहयोग पनि हुनेछ ।
उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको सदुपयोग अपरिहार्य भएको बताएका थिए । प्रधानमन्त्री ओलीले गतिशील दुनियाँमा त्यस अनुसार कुद्न नसकेमा कसैले पर्खेर बस्ने उल्लेख गर्दै सरकार सुशासनमार्फत देशलाई विकसित र समृद्ध बनाउन सूचना प्रविधिको प्रयोग बढाउने प्रक्रियामा रहेको बताए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधिले सहज सेवा प्रवाह, आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले छिमेकी भारत र चीनले सूचना प्रगतिमा गरेको प्रगतिलाई आत्मसात गरी कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन आदिका क्षेत्रमा यसको प्रयोगको व्यापकता गरिने बताए । नागरिकको जीवन सहज बनाउन तथा सूचना एवं ज्ञान बाँड्न सम्मेलनबाट प्राप्त सुझावबाट सरकारको समृद्ध नेपाल र सुखी नेपालीको सपना पूरा गर्न योगदान मिल्ने मन्त्री बास्कोटाले बताए ।
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले राष्ट्रिय परिचयपत्र बनाइ एकै परिचयपत्रबाट सबै सेवाका लागि प्रयोग गराउने नीति लिएकामा त्यसका लागि डिजिटल नेपाल लागू हुनु अत्यावश्यक भएको बताए । फ्रोष्ट एण्ड सुलिभानका अन्तर्रा्ष्ट्रिय अध्यक्ष अरुप ‘जुट्थील डिजिटल नेपाल ः समृद्ध नेपाल र सुखी नेपालीका लागि सामाजिक र आर्थिक कार्यढाँचा’ बारे कार्यपत्र प्रस्तुत गर्दै डिजिटल क्रान्तिले आर्थिक रुपान्तरणलाई तीव्र बनाउँदै नेपाललाई विकसित बनाउने बताए । उनले परम्परागत उद्योग र रोजगारीलाई डिजिटल प्रविधिको प्रयोगबाट सिर्जनशील र सहज बनाउन सकिने बताए ।
कार्यक्रममा सूचना प्रविधिमार्फत् एकद्वारबाट सेवाग्राहीलाई सुविधा दिन निजामती किताबखाना र कर्मचारी सञ्चय कोषका प्रमुखबीच सहमतिपत्र आदानप्रदान गरिएको थियो । सम्मेलनमा सूचना प्रविधिसम्बन्धी राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय विज्ञ र संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्