धार्मिक स्थल कालिञ्चोक कुरीको जग्गा नापीमा विवाद


चिरञ्जीवी मास्के, दोलखा ।
दोलखाको प्रसिद्ध धार्मिक स्थल कालिञ्चोक कुरीको जग्गा नापी गर्ने विषयमा विवाद भएको छ । मन्त्री स्तरीय निर्णयबाट गुठिको नाममा नापी गर्न निर्देशन आएपछि विवाद भएको हो ।
विगतमा दुई गाविस बीच सिमा विवादका कारण नापी हुन नसकेको कालिञ्चोक कुरीको जग्गा नापी गर्न भूमि व्यवस्था तथा गरिवी निवारण मन्त्रालयले २०७३ फागुन १२ गतेको मन्त्री स्तरीय निर्णयबाट गुठीको नाममा बजेट निकासा गरेको थियो । मन्त्रालयको निर्देशन अनुसार जिल्ला मालपोत कार्यालयले नापी विभागमा पत्राचार गरेको र नापी विभागले जिल्ला नापी कार्यालयलाई पत्राचार गरेपछि टोली गठन गरेर काम सुरु गर्न लाग्दा विवाद भएको हो ।

दोलखाको कालिञ्चोक गाँउपालिकामा पर्ने ८ वटा खर्क मध्य कुरीको २ सय हेक्टर जग्गा कालिञ्चोक भगवती दोलखा र त्रिपुरा सुन्दरी भन्ने भीमेश्वर गुठीको नाममा नापी गर्ने तयारी भएपछि कालिञ्चोक गाँउपालिका, जिल्ला बन कार्यालय दोलखा र झरेली सामुदायीक बनले आफ्नो भएको दावि सहित नापी कार्यालयलाई पत्राचार गरेपछि अहिले नापीको काम स्थगीत गरिएको कार्यालय प्रमुख रामकुमार वस्नेतले बताए । अब सरोकारवाला पक्षको सहमति पछिमात्र नापीको काम अगाडि बढ्ने प्रमुख वस्नेतको भनाई छ ।
प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले पनि कालिञ्चोक कुरीको जग्गा नापी गर्ने विषयमा विवाद भएपछि अहिले काम स्थगीत भएको बताए । मन्त्री स्तरीय निर्णयबाट कुरीको जग्गा नापी गर्न गुठी मार्फत बजेट निकासा भएपछि काम सुरु गर्न लागिएको तर विवाद भएपछि अहिले प्रकृया अगाडि नबढेको प्रजिअ पाठकले बताए । अन्य सरोकारवाला पक्षले भने जस्तो गुठीकै नाममा नापी गर्न लागिएको भन्ने कुरा भने गलत रहेको प्रजिअ पाठकले बताए ।
नापीको टोलीले नापनक्सा गरेपछि आवश्यक कागज प्रमाणको आधारमामात्र कसको नाममा नापी गर्ने भन्ने निर्णय हुने उनको भनाई छ । नापी गर्नको लागि वडा प्रतिनिधि अनिर्वाय भएकोले सहमति विना कुनै एउटा पक्षको नाममामात्र नापी हुन नसक्ने प्रजिअ पाठकले बताए । तर अहिले आम रुपमा बुझिए जस्तो गुठीको नाममा नापी भएपछि गुठीयारहरु मोहियानी बन्ने प्रकृया भने कुरीको जग्गाको सवालमा लागु नहुने प्रजिअ पाठकको भनाई छ । अब सरोकारवाला पक्ष सबैको संयुक्त बैठक राखि छलफल गरिने र कागज प्रमाणको आधारमा कस्को नाममा नापी गर्ने भन्ने टुङ्गोमा पुग्न सकिने प्रजिअ पाठकले बताए ।

कालिञ्चोक गाँउपालिकाका प्रमुख विनकुमार थामीले कुरीको जग्गा सरकारले जर्वजस्ति गुठीको नाममा नापी गर्न थालेपछि गाँउपालिकाले त्यसलाई रोक्न नापी कार्यालयमा पत्राचार गरेको उल्लेख गर्दै उक्त जग्गा सार्वजनिक भएकोले कालिञ्चोक गाँउपालिकाको नाममा नापी हुनुपर्ने दावि गरे । गाँउपालिका प्रमुख थामीले बन कार्यालयको नाममा नापी भएपनि गाँउपालिकालाई आपत्ति नहुने तर गुठीको नाममा भने कुनै पनि हालतमा नापी हुन नसक्ने बताए ।