हेटौंडामा जताततै ‘नो पार्किङ’

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा ।
हेटौंडामा अब जताततै ‘नो पार्किङ’ व्यवस्था लागु गरिने भएको छ । यसले सर्वसाधारणलाई हैरानी भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत् हेटौंडा राप्तिपुलदेखि बुद्धचोक र बनविज्ञान अध्ययन संस्थानसम्म तथा त्रिभुवन राजपथको चौकीटोल ओरालोदेखि बुद्धचोकसम्म सानाठूला सवारीसाधन पार्किङलाई पूर्णरुपमा बन्द गरिएको छ ।

लामो छलफलपछिको निर्णयसँगै राप्तिरोड, स्कुलरोड तथा बुद्धचोकजस्ता क्षेत्रमा पार्किङ गर्न नपाइने भएको छ । कान्ति लोकपथ क्षेत्रमा ‘नो पार्किङ’ गर्न यथाशीघ्र विकल्प खोजी गरी व्यवस्थापन गर्ने निर्णय भएको छ ।

हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतको सभाध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय प्रमुख सम्मिलित बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राप्तिपुलदेखि बुद्धचोक क्षेत्रमा ‘नो पार्किङ’ गर्ने सम्बन्धमा राप्तिरोडमा अवस्थित रक्त सञ्चार केन्द्रको दक्षिणपट्टिको खाली ठाउँ र बुद्धचोकको दक्षिणमा अवस्थित भीमसेन मिनीमार्केट क्षेत्रमा पार्किङ क्षेत्र तोक्ने निर्णय भएको छ ।
चौकीटोल ओरालोदेखि बुद्धचोकसम्म दुईपांग्रे सवारी पार्किङ हुँदै आएकोमा उक्त क्षेत्रलाई ‘नो पार्किङ’ गरी पुरानो देवी सिनेमा हल रोड र पिपलबोटको भित्री रोडमा पार्किङ स्थल तोकी त्रिभुवन राजपथलाई ‘नो पार्किङ’ घोषणा गरिने भएको छ ।

बुद्धचोकदेखि फरेष्ट्रीसम्म ‘नो पार्किङ’ क्षेत्र घोषणाका लागि उक्त क्षेत्रमा पार्किङ हुँदै आएका दुईपांग्रे तथा चारपांग्रे सवारी पार्किङलाई हटाएर टीसीएनको खाली जग्गामा पार्किङ व्यवस्था मिलाउने बैठकमा निर्णय भएको छ ।

‘नो पार्किङ’ क्षेत्रमा चारपांग्रे भारी सवारीसाधन लोड÷अनलेड गर्ने व्यवस्था मिलाउन विहान साढे ८ बजे अगाडि र साँझ साढे ७ बजेपछि मात्र लोड÷अनलोड गर्न पाइने छ । स्कुलरोडमा ‘नो पार्किङ’ गरी त्यहाँ पार्किङ हुँदै आएका दुईपांग्रे सवारीलाई भुटनदेवी स्कुलअगाडि पार्किङ व्यवस्था मिलाइने निर्णय भएको छ ।