कुखुरा ‘शिकार’ गरेको अजिंगर बनमै छाडियो


नेपाल समाचारपत्र, हेटौंडा ।
मकवानपुरको मनहरी–९ स्थित मीना भुजेलको कुखुराको खोरमा करिब फेला परेको करिब १० फिट लामो अजिंगरलाई स्थानीयले पर्सा बन्यजन्तु राष्ट्रिय निकुञ्जस्थित प्रतापपुर पोष्टनजिक बनमा छाडेका छन् ।
अजिंगरले खोरका चार वटा कुखुरा खाएको कुखुराधनी भुजेलले बताउनुभयो । खोरमा अजिंगर पसेपछि उहाँले छरछिमेक र जनप्रतिनिधिलाई खबर गर्नुभएको थियो ।
स्थानीयको कुखुरा खोरमा पसेको अवस्थामा ९ नम्बर वडा अध्यक्ष साधुराम अधिकारी, पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी तथा कर्मचारीले अजिंगर समातेका हुन् ।
मध्यवर्ती उपभोक्ता समिति अध्यक्ष पदम तितुङले नियन्त्रणमा लिइएको अजिंगरलाई पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुर क्षेत्रमा रहेको बनमा छोडिएको बताउनुभयो । उहाँका अनुसार नयाँ आर्थिक वर्ष शुरु भएपछि दुई वटा अजिंगरलाई नियन्त्रणमा लिएर निकुञ्ज क्षेत्रमा छाडिएको छ ।
हरेक वर्ष १५ भन्दा बढी अजिंगर मानवबस्तीमा आउने गरेको भन्दै उहाँले सबै अजिंगरलाई नियन्त्रणमा लिएर निकुञ्ज क्षेत्रमा छाड्ने गरिएको बताउनुभयो । निकुञ्जसँगै राप्तीवारि रहेका सरकारी र सामुदायिक बनको सिमसार क्षेत्रमा अजिंगरको बास रहेको हुनसक्ने अध्यक्ष तितुङको आशंका छ ।