नेपाल समाचारपत्र, लमजुङ ।
भारतको राजस्थान, जयपुरमा आयोजना गरिएको तेस्रो अन्तराष्ट्रिय कराँते प्रतियोगिता (थर्ड आइएमएस) च्याम्पियनसीप प्रतियोगितामा लमजुङका खेलाडीले नेपाललाई पाँच स्वर्ण, एक रजत र दुई काश्य पदक दिलाएका छन् । साउन १२ र १३ गते अर्थात जुलाई २८ र २९ मा सो प्रतियोगिता भएको हो ।
पदकका साथमा गाउँ आईपुगेका उनीह रूलाई गाउँलेले स्वागत गरेका छन् । सो प्रतियोगिता ७ र ८ बर्ष उमेर समूह, ९ र १० बर्ष उमेर समूह, ११ बर्षदेखि १२ बर्ष उमेर समूह, १३ देखि १४ बर्ष उमेर समूह १७ देखि १८ बर्ष उमेर समूह तथा ६० केजी तौल समूहमा छुट्टा छुट्टै गरिएको थियो । उक्त प्रतियोगिताको सातदेखि आठ बर्ष उमेर समूहमा कबिन गुरुङ प्रथम भए, नौदेखि दश बर्ष उमेर समूहमा लाप्साङ तामाङ प्रथम, १३ देखि १४ बर्ष उमेर समुहमा सुनिल घले प्रथम, १७ देखि १८ बर्ष उमेर समुहमा बिकास गुरुङ प्रथम भएर स्वर्ण पदक प्राप्त गरेको उनीहरूका प्रशिक्षक प्रेमबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार ६० केजी तौल समूहमा प्रेमबहादुर गुरुङ पनि प्रथम भई स्वर्ण पदक जितेका छन् ।
यसैगरी, ११ बर्षदेखि १२ बर्ष उमेर समुहमा प्रियन्स परियार द्वितीय भइन् भने खुल्ला तौल समुहमा बिक्रम घले द्वितीय भए । त्यस्तै, सातदेखि आठ बर्ष उमेर समूहमा छात्रातर्फ सलिना सुनार तृतीय भइन् भने नौदेखि दश बर्ष उमेर समुहमा सरस्वती गुरुङ पनि तृतीय भएकी हुन् ।
ती खेलाडीहरू सबै लमजुङको सुन्दरबजार नगरपलिका– ९ स्थित भोटेओडार निवासी हुन् । उनीहरूले सोही स्थानमा सञ्चालन गएको मस्र्याङदी कराँते डोजोमा प्रशिक्षण लिएका हुन् । सो प्रतियोगितामा भाग लिन नौ जना खेलाडीका साथमा आफू गएको प्रशिक्षक प्रेमबहादुर गुरुङले बताउनु भयो । उहाँका अनुसार ती खेलाडीहरूको साथमा अफिसियलको रूपमा लमजुङबाट दानबहादुर परीयार, सन्तोष गुरुङ र प्रशिक्षकका हैसियतले आफ्नो टोली गएको थियो ।
भारतिय मार्सल आर्ट जयपुरको आयोजनामा भएको प्रतियोगितामा नेपाल र भारतका अतिरिक्त भुटान, श्रीलंका, बङ्लादेश, इरान लगायत ११ देशका करिब चार सय जना खेलीहरूको भाग लिएको आयोजकले जानकारी दिएको प्रशिक्षक गुरुङले बताउनुभयो ।
विजेता खेलाडीलाई एक दिन विशेष कार्यक्रम राखेर नगरपालिकाकोतर्फबाट सम्मान गरिने सुन्दरबजार नगरपालिकाका मेयर जनक मिश्रले बताउनु भएको छ ।
प्रतिक्रिया