यातयात ब्यवस्था कार्यालय अब प्रदेश सरकारको मातहातमा


कृष्णउदास खनाल, वीरगन्ज ।
प्रदेश २ सरकारले वीरगन्जमा रहेको यातायात कार्यालयलाई आफ्नो माताहातमा रहने ब्यवस्था मिलाएको छ ।
शुक्रबार उसले केन्द्रीय भौतिक पूर्वाधार मंत्रालय मातहातमा रहेको उक्त कार्यालयलाई आफ्नो माताहातमा ल्याएको हो । अब यही कार्यालयले सवारी चालक अनुमतिपत्र दिनेछ । वीरगन्जमा रहेको यातायात व्यवस्था कार्यालय सवारी तथा सवारी चालक अनुमति पत्रको कार्यालय प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयमा मातहतमा आएको हो । कार्यालयको प्रदेश नं २ का भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री जितेन्द्र सोनलले शुक्रबार उद्घाटन गरेका छन् ।

कार्यक्रममा मन्त्री सोनलले भने, ‘कसैकसैले मलाई पहिलेदेखि नै भएको कार्यालय किन उद्घाटन गरेको भनेका छन् । तर, म भन्छु यो ऐतिहासिक काम हो ।’‘किनकी यातायात व्यवस्था कार्यालयका कर्मचारी पहिले नेपाल सरकारका थिए, अब प्रदेश सरकारका कर्मचारी भएका छन् । यो परिवर्तन हो,’ उनले भने, ‘यही परिवर्तनका लागि जनताले घण्टाघरमा नारा लगाएका थिए, कोइला र पेन्टले ‘मधेस सरकार’ लेखेका थिए । अब हामी मधेस सरकारको नजिक पुगेका छौं ।’

यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा आएपछि कार्यालयबाट उठ्ने ३ सय करोड राजश्व प्रदेशको हुने र त्यसलाई प्रदेशको विकासमा प्रयोग गरिने उनले बताए । ‘प्रदेश सकारका धेरै मन्त्रालयको बजेट त्यति छैन । तर, वीरगन्जको यातायात व्यवस्था कार्यालयबाट साढे ३ सय करोड रुपैयाँ राजश्व उठ्ने गरेको रहेछ ।राजपा महामन्त्री समेत रहेका मन्त्री सोनलले केन्द्र सरकारसँग समन्वय र संघर्ष दुवै हुने बताए । ‘केन्द्र सरकारसँग समन्वय पनि हुन्छ, स्ट्रगल पनि हुन्छ’ उनले भने ।