जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी


काठमाडाैं । जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पीएफ पार्टीबाट उम्मेदवार रहेका इमर्सन मान्गाग्वा विजयी भएका छन् । पूर्वराष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ ।

मान्गाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गरेका छन् । उनका विपक्षी नेल्सन चामिसाले ४४.३ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । तर, विपक्षीहरूले मतदानमा धाँधली भएको भन्दै अदालतमा मुद्दा दायर गर्दै सडकमा प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।

मतदानको दिन शान्तिपूर्ण रहे पनि गत बुधबार मतदानमा धाँधली भएको खबर फैलिएसँगै एकाएक हिंसा भड्किएको थियो । हिंसात्मक झडपका कारण तीनजनाको मृत्युसमेत भएको थियो ।

नवनिर्वाचित राष्ट्रपति मान्गाग्वाले ट्विट गर्दै भनेका छन्, ‘चुनावताका हामी विभाजित भयौँ होला, अब हामी समृद्ध जिम्बाबे बनाउने सपना पूरा गर्न एक भएका छौँ । यो नयाँ सुरुवात हो । हामी हात मिलाऔँ, नयाँ जिम्बाबे निर्माण गर्न शान्ति, एकता, प्रेम र भ्रातृत्व कायम गरौँ ।’