सेती जलविद्युत आयोजना निर्माणका लागि स्थानिय तहसंग सम्झौता


यमलाल भुसाल, बुटवल ।
स्वदेशी लगानीमा बिद्युत उत्पादन गर्ने लक्ष्यसहित बुटवलको भिजन लुम्बिनी लिमिटेडले कास्की जिल्लाको माछापुच्छे गाउपालिका वडा नं २ संग सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
भिजन लुम्बिनीको बहुलक्षित परियोजना अन्र्तगत पोखरामा रहेको सार्दी खोलामा सेती नदी जलविद्युत आयोजनावाट २५ मेगावाट जलविद्युत निकाल्ने भएको छ ।
सेती नदी जलबिद्युत आयोजना संचालनका लागि सार्दी खोलारहेको माछापुच्छे गाउपालिका वडा नं २ र भिजन लुम्बिनी बिच १४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
गाउपालिका कार्यालयमा भएको कार्यक्रममा वडाध्यक्ष बिक्रम गुरुङ्ग र भिजनका तर्फबाट अध्यक्ष जगत बहादुर पोखरेलले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो ।
सम्झौता पत्रमा स्थानीयले शेयर खरिद गर्न चाहेमा १ घर १ शेयर, स्थानीयको सीप क्षमताको आधारमा रोजगारी, उचित मुआब्जा, माछापुच्छ्रे माध्यमिक विद्यालयको आर्थिक अवस्थामा सुधार ल्याउन भिजन लुम्बिनीले दश लाख आर्थिक सहयोग दिने पनि सहमति भएको छ ।
५ सय करोडको ड्रिम प्रोजेक्टलाई ३ वर्षमा पूर्वाधार सकिने गरी काम हुने भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताउनु भयो । कागजी प्रक्रिया सकेर अब जलविद्युत उत्पादनका लागि पूर्वाधारको काम शुरु गरिने उहाँले बताउनु भयो ।
‘२५ मेगावाटको विद्युत उत्पादन गर्ने स्वीकृति पाएसंगै हामीले, अहिलेसम्म कागजी प्रकृया सबै सक्यौं र पिपिए डाफ्ट पनि सकेका छौं’अध्यक्ष पोखरेलले भन्नु भयो ।
२५ हजारदेखि २ करोडसम्म शेयर खुलाएर रकम संकलनको कामसमेत संगसंगै अघि बढाइएको उहाँको कथन छ ।
सम्झौतापत्रमा हस्ताक्षरपछि माछापुच्छे गाउँपालिका २ का वडाध्यक्ष बिक्रम गुरुङले परियोजना संचालनमा आएसंगै यस क्षेत्रको विकास हुनेमा आफु आशावादी रहेको बताउनु भयो । उहाँले २५ हजार महिलाहरुबाट एकताबद गराएर माईक्रो फाईनान्स हुदै उर्जामा लगानी गर्न थालेको भिजन लुम्बिनीले सार्दीखोलाको पहिचानका लागि पनि परियोजना उपलब्धिमुलक हुने बताउनु भयो ।
यसैबिच परियोजनाको अध्ययनका लागि बुटवलबाट उद्योगी, व्यापारी र पत्रकारको टोलीले जलबिद्युत उत्पादन हुने क्षेत्रको अवलोकन समेत गरेका छन ।