नेपाललाई भारतमा ५ स्वर्ण


लमजुङ, (नेस)
भारतको राजस्थानमा आयोजना गरिएको तेस्रो अन्तराष्ट्रिय कराँते प्रतियोगिता (थर्ड आइएमएस) च्याम्पियनसीप प्रतियोगितामा नेपालले ५ स्वर्ण जितेको छ ।

लमजुङका खेलाडीकै बाहुल्यता भएको नेपाली टोलीले १ रजत र २ कांस्य पनि जित्यो । यही साउन १२ र १३ गते आयोजित प्रतियोगितामा पदक जितेर आएका खेलाडीलाई गृह जिल्ला लमजुङबासीले स्वागत गरे । उक्त प्रतियोगिताको ७–८ बर्ष उमेर समूहमा कबिन गुरुङ, ९–१० बर्ष उमेर समूहमा लाप्साङ तामाङ, १३–१४ बर्ष उमेर समुहमा सुनिल घले, १७–१८ बर्ष उमेर समुहमा बिकास गुरुङले स्वर्ण पदक जिते । त्यस्तै उनीहरूका प्रशिक्षक प्रेमबहादुर गुरुङले ६० केजी तौल समूहमा स्वर्ण पदक हात पारेका थिए ।

यसैगरी, ११–१२ बर्ष उमेर समुहमा प्रियन्स परियार र खुल्ला तौल समुहमा बिक्रम घलेले रजत पदक हासिल गरे । ७–८ बर्ष उमेर समूहमा छात्रातर्फ सलिना सुनार र ९–१० बर्ष उमेर समुहमा सरस्वती गुरुङले कांस्य पदक प्राप्त गरेका थिए ।

भारतिय मार्सल आर्ट जयपुरको आयोजनामा भएको प्रतियोगितामा नेपाल र भारतका अतिरिक्त भुटान, श्रीलंका, बङ्लादेश, इरान लगायत ११ देशका करिब चार सय जना खेलाडीहरूले भाग लिएका थिए । सुन्दरबजार नगरपलिका– ९ स्थित भोटेओडारका ती विजेता खेलाडीलाई विशेष कार्यक्रम राखेर नगरपालिकाकोतर्फबाट सम्मान गरिने सुन्दरबजार नगरपालिकाका मेयर जनक मिश्रले बताएका छन् ।