हालको लागि खेलाडीलाई राहत


काठमाडौं, (नेस)
मादक पदार्थ सेवन गरी हो हल्लाको आरोपमा परेका पाँच खेलाडीलाई राहत मिलेको छ । नेपाली राष्ट्रिय फुटबल टोली र नेपाली यु २३ राष्ट्रिय फुटबल टोलीको थाइल्यान्ड भ्रमणमा ती पाँचै जना खेलाडी पनि संगै जान लागेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ७२ घण्टाभित्र उनीहरुसँग लिखित जवाफ माँग गरेको थियो । उनीहरुको लिखित जवाफ पनि आइसकेको तर सुरक्षा कम्पनी गरुडको स्पष्टिकरण आउन बाँकी रहेको एन्फाले जनायो ।

एन्फाका प्रवक्ता किरण राईले जनाएअनुसार सुरक्षा कम्पनीको लिखित जवाफ आएपछि थप छलफल गरिने र छानबीनका लागि अनुसासन समितिलाई जिम्मा दिइने जानकारी गराएका छन् । उनले बताए—प्रक्रिया चलिरहेको छ । खेलाडीको भ्रमण भने रोकिने छैन ।

गत शुक्रबार राति पाँच खेलाडी विमल घर्तीगमर, अन्जन विष्ट, हेमन्त थापामगर, विशाल राई र छिरिङ गुरुङ शेर्पाले हो हल्ला गरेको सीसीटीभी क्यामेरामा देखिएको थियो । उनीहरुसँग एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र पदाधिकारीले मौखिक जवाफ लिए पनि चित्तबुझ्दो नभएपछि लिखित जवाफ लिएको हो । सुरक्षा कम्पनीसँग ७ दिनको म्याद दिएकोले त्यताबाट एन्फाले जवाफ पाएको छैन ।

खेलाडीहरुले साथीकहाँ गएको र कुनै डिस्कोमा नगएको भन्ने जवाफ दिएका थिए । तर बन्द प्रशिक्षणमा रहेकाले यी खेलाडीले कुनै पनि अप्रिय व्यवहार देखाउन पाउँदैनन् । उनीहरुले किन यस्तो अनुसासनहीन कार्य गरेको यसको छानवीन हुनै पर्ने भएकोले एन्फाले यसलाई गम्भीरताका साथ लिएको पनि प्रवक्ता राईले बताएका छन् ।

नेपालका दुबै टोली आज थाइल्यान्डको लागि प्रस्थान गर्दैछन् । नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेसमा हुने साफ च्याम्पियनसिपको लागि तयारी गर्नेछ । त्यस्तै नेपाली राष्ट्रिय यु २३ फुटबल टोलीले इन्डोनेसियामा हुने एसियाली खेलकुदमा सहभागिता जनाउनको लागि अनुभव बटुल्नेछ । जसमा राष्ट्रिय टोलीका ३ खेलाडी पनि सम्मिलित गरिने प्रावधान रहेको छ । तर अहिलेसम्म को को सिनियर ३ खेलाडीले खेल्ने छनोट समितिले निर्धारण गरेको छैन ।

थाइल्यान्डमा नेपालले दुई अभ्यास खेल खेल्नेछ । नेपाली सिनियर टोलीले साउन २२ गते पुलिस टीरोसँग खेल्नेछ । त्यस्तै नेपाली जुनियर टोलीले साउन २५ गते थाइल्यान्डकै यु २३ टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।