नेपालले आज दोस्रो खेल खेल्दै


नेपाल समाचारपत्र, काठमाडौं
नेपाली क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा डेब्यु भएको छ । बुधबार नेदरल्यान्डस्सँग खेलेको खेलबाट नेपाली क्रिकेटले नेपाली खेलकुदमा ठूलो उपलब्धि दिलाएको हो । एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्न नेपालले २२ वर्ष लामो समय कुर्नु परेको थियो । नेपाल यसअघि प्रायजसो डिभिजनकै चक्करमा परिरहेको थियो । तर गत मार्चमा जिम्बावेमा भएको आईसीसी विश्व कप क्रिकेट छनोटमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय यानि वानडेमा मान्यता पाएको थियो ।

नेपालले ऐतिहासिक वानडे खेलमा जितेर खुशी भने मनाउन पाएन । नेदरल्यान्डस्लाई १ सय ८९ रनमा समेटेर नेपालले जित्ने संकेत गरेको थियो । तर नेपालको पुरै टोली १ सय ३४ रनमै रोकियो र ५५ रनले हार स्विकार गर्नु परेको थियो । नेपालको तर्फबाट ब्याटिङमा वानडे डेब्यु गरेका खेलाडीमध्ये ज्ञानेन्द्र मल्ल भाग्यमानी सावित भए । उनले ५१ रनको अर्धसतकीय पारी खेले । तर उनको यो रनले नेपाललाई जित दिलाउन सकेन । पारस खड्का १२, अनिल साह २० र दीपेन्द्र सिंहऐरी ३३ रनमा आउट भए भने अन्य खेलाडी दोहोरो अंकमा नपुग्नु नै नेपालको हार भएको थियो।

आज हुने खेलमा नेपालको लागि नेदरल्यान्डस्सँग जितेर २ खेलको वानडे सिरिज १–१ बराबरी गर्ने मौका छ । नेपालका बलरमा सोमपाल कामी जमेका छन् । उनले तीन विकेट लिएका थिए । कप्तान पारसले ४ विकेट लिएका थिए । बलिङ र ब्याटिङको प्रदर्शनले नेपालको लागि पारस नै महत्वपूर्ण खेलाडी रहेका छन् । उनको बलिङ चल्दा नेपालले विपक्षीलाई मध्यम स्कोरमै प्याक अप गरायो । उनको ब्याट नचल्दा नेपालको ब्याटिङ धर्मराएको थियो ।

तर दोस्रो खेलमा सरद भेषवाकर नखेल्ने भएपछि नेपाली ब्याटिङमा समस्या पर्ने सम्भावना पनि त्यतिकै छ । सरदले पहिलो खेलमा फिल्डिङ गर्ने क्रममा उनको हातमा चोट परेको थियो । मध्यक्रममा आउने ब्याटिङ गर्ने सरद बुधबारको खेलमा ११ औं नम्बरमा ब्याटिङ गर्न आएका थिए । तर उनी चल्न सकेनन् र अन्तिम विकेटको रुपमा आउट भए ।

शक्तिको अन्तिम खेलयो खेल स्पिनर शक्ति गौचनको लागि अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । युरोप भ्रमण अगाडि नै शक्तिले अन्तिम अन्तर्राष्ट्रिय भ्रमण भनेर घोषणा गरेका थिए । उनको विदाई सुनौलो गर्न नेपालले यो खेल जित्नै पर्ने दवाव पनि रहेको छ। सन्२००२ देखि नेपाली राष्ट्रिय टोलीबाट खेलेका ३५ वर्षीय शक्तिले पहिलो वानडेमा विकेट लिन भने सकेनन् । लिस्ट ए मा उनले कूल १८ विकेट लिएका छन् ।