एडीबीको सहयोगमा बनिरहेका आयोजनाको काम सुस्त

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
एसियाली विकास बैंक (एडीबी) को सहयोगबाट नेपालमा सञ्चालित आयोजनाहरुको कार्यप्रगति स्थिति सन्तोषजनक नदेखिएपछि बैंकले ती आयोजनाको काम समयमै पँरा गर्न तथा सकारात्मक नतिजाका लागि सरकारले पहल गर्न सचेत गराएको छ ।

बिहीबार काठमाडौंमा आयोजना भएको एसियाली विकास बैंकको सहयोगमा नेपालमा सञ्चालित आयोजनाहरुको स्थितिबारे समीक्षा गर्न त्रिपक्षीय पोर्टफोलियो बैठकमा एडीबी प्रतिनिधिहरुले उक्त धारणा राखेका हुन् ।

एडीबी, सरकार र सम्बन्धित आयोजनाका पदाधिकारीबीचको त्रिपक्षीय पोर्टफोलियो समीक्षा बैठकमा एडीबीले लगानी गरेका आयोजनाको कार्यप्रगतिका विषयमा प्रश्न उठेको हो ।

एडीबी सहयोगका निर्माण भईरहेका मेलम्ची खानेपानी आयोजना, त्रिभुवन विमानस्थल सुधार आयोजना, गौतम बुद्ध विमानस्थल, भँकम्प आकस्मिक सहयोग आयोजना, सडक सुधार आयोजनालगायत सबै आयोजनामा प्रभावकारी ढंगले कार्यप्रगति हुन नसकेको भन्दै सरकारलाई सचेत गराएको हो । एडीबीको लगानी रहेका पर्यटन तथा हवाई उड्डयन र सिँचाइ तथा खानेपानीका आयोजनाको कार्यप्रगति अन्य क्षेत्रका आयोजनाभन्दा कम सन्तोषजनक देखिएको बैंकका प्रतिनिधिहरुको भनाइ छ ।

एडीबी दक्षिण एसिया विभागका उपमहानिर्देशक दिवेश शरणले गत वर्ष सबै आयोजनाको काम सन्तोषजनक भएको तथा नेपालको कार्यसम्पादन राम्रो भए पनि यस वर्ष केही खस्किएको बताउनुभयो । सन्तोषजनक कार्यसम्पादन तथा आयोजना निर्माणको लक्ष्य प्राप्तिका लागि नेपालले थप प्रयास गर्नुपर्ने उपमहानिर्देशक शरणको भनाइ छ ।

त्रिभुवन विमानस्थल, गौतमबुद्ध विमानस्थल, मेलम्ची खानेपानी आयोजना र काठमाडौं उपत्यका खानेपानी वितरण आयोजनाको लक्ष्य प्राप्तिमा आशंका देखिएकाले समय सीमाभित्र काम सक्न सरकारी हस्तक्षेप गर्नुपर्ने अवस्था आए पनि त्यसका लागि पछि पर्न नहुने उहाँको भनाइ छ । ‘अहिलेकै गतिमा काम अगाडि बढाउँदा लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको छ । आयोजना निर्माणको काममा ढिलाइ हुँदा विनियोजित बजेट खर्चमा समेत प्रभाव पर्ने र लागत बढ्ने हुन्छ । यस विषयमा सरकार र आयोजना दुवैको समन्वयात्मक भँमिकाबाट सकारात्मक नतिजा निस्किन्छ ।’ उपमहानिर्देशक शरणले भन्नुभयो ।

त्यसैगरी नेपालका लागि एडीबीका देशीय निर्देशक मुख्तर खामुदाखानोभले अन्य विकासशील मुलुकको तुलनामा नेपालमा काम गर्नु चुनौतीपँर्ण रहेको बताउनुभयो । हरेक काममा ढिलासुस्ती नरोकिनु नेपालको मुख्य समस्या रहेको भन्दै उहाँले एडीबीको सहयोगप्रति सरकार संवेदनशील हुन सक्नुपर्ने धारणा राख्नुभयो । ‘हामी नेपालमा थप काम गर्न इच्छुक छौं । तर, यसमा नेपालले दृढ प्रतिबद्धताका साथ काम गर्नुपर्छ । एकसाथ काम गर्दा हामी सबैका उद्देश्य प्राप्त हुन्छन् ।’ मुख्तरले भन्नुभयो ।

उक्त कार्यक्रममा अर्थसचिव राजन खनालले एडीबीको सहयोगका निर्माण भइरहेका आयोजनाको काम समयमै सम्पन्न गर्न सबै पक्ष सजग हुनुपर्ने बताउनुभयो ।

एडीबीलगायत अन्य दातृ निकायको सहयोगमा निर्माण भइरहेका आयोजना तथा कार्यक्रम लक्ष्य अनुरुप नै अगाडि बढाउन अर्थ मन्त्रालय उचित कार्ययोजना सहित अघि बढेको खनालको भनाइ छ । ‘कुनै पनि बहानामा आयोजनाको नीति तथा कार्यक्रम कार्यान्वयनमा ढिलाइ गर्न कसैलाई छुट छैन ।

यस्ता योजनाको कार्यान्वयनका लागि नियमित छलफलले सरकारलाई पनि नीति तथा कार्यक्रम समयभित्रै कार्यान्वयन गरिसक्न थप दबाब सिर्जना भएको छ ।’ खनालले भन्नुभयो । पछिल्लो समय मुलुक राजनीतिक स्थिरतातर्फ उन्मुख भएकाले पनि आयोजना निर्माणले उल्लेखनीय गति लिने उहाँको भनाइ छ ।

सन् २०१८ मा एडीबीमार्फत् विभिन्न आयोजनाका लागि १ अर्ब ५० करोड ८० लाख अमेरिकी डलर अर्थात् कुल ऋण तथा लगानी परिचालनको ६४ प्रतिशत आयोजना सम्झौता भइसकेको र ३६ प्रतिशतको सम्झौता हुन बाँकी रहेको छ ।

त्यसैगरी खर्चतर्फ ४० प्रतिशत अर्थात् ९३ करोड ५० लाख अमेरिकी डलर खर्च भएको छ भने ६० प्रतिशत रकम खर्च हुन सकेको दैखिँदैन । एडीबीले नेपालमा सबैभन्दा बढी शहरी विकास र खानेपानी आयोजनामा ऋण तथा अनुदान सहयोग परिचालन गरेको छ । यो क्षेत्रमा नेपालमा एडीबीबाट परिचालित कुल पोर्टफोलियोको ७५ करोड ८० लाख अमेरिकी डलर अर्थात् ३२ प्रतिशत ऋण तथा अनुदान परिचालन भएको छ । ऊर्जा क्षेत्रमा कुल पोर्टफोलियोको २३ प्रतिशत अर्थात् ५४ करोड ३० लाख अमेरिकी डलर परिचालन भएको छ।

त्यसैगरी यातायातका क्षेत्रमा ४१ करोड ६० लाख अमेकिरी डलर, कृषिका क्षेत्रमा २३ करोड अमेरिकी डलर, पुनर्निर्माणका क्षेत्रमा २० करोड २० लाख डलर र शिक्षा क्षेत्रमा १४ करोड डलर ऋण तथा सहायता परिचालन भएको छ ।

एडीबीका ऋण तथा अनुदान सहयोगमा नेपालमा सञ्चालित ३३ परियोजनामध्ये १० वटा परियोजना निर्माणको अन्तिम चरणमा छन् भने २० वटा कार्यान्वयनमा चरणमा छन् भने ३ वटा स्थापना चरणमा रहेका छन् ।