जुडो खेलाडीको प्रशिक्षण बैंककमा हुने


काठमाडौं, (नेस)
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागिता जनाउन जुडो टोलीले बैंककमा प्रशिक्षण लिने भएको छ । बिहीबारै त्यसतर्फ प्रस्थान गरेको १४ सदस्यीय टोलीमा एसियाडमा छनोट भएका ७ खेलाडी रहेका छन् । उनीहरु थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुनेछन् । यही साउन १९ र २० गते हुने उक्त प्रतियोगितामा उनीहरुले नेपालको तर्फकाट चुनौती प्रस्तुत गर्नेछन् ।

पुरुषको ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सन्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु र १ सय केजीमाथि रविन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ५२ केजीमुनि देवीका खड्का, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७८ केजीमुनि पुनम श्रेष्ठले भाग लिनेछन् । यीबाहेक एसियाडमा छनोट नभएका सुमित्रा राईले महिला ४८ केजी मुनि तथा पुरुषतर्फ उमेश मगरले ६० केजी मुनि र ८१ केजी मुनि सञ्जय महर्जनले सो प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

फुपु जापानतिर
१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक दिलाएकी फुपु ल्हामु खत्री भने नेपाली टोलीमा सहभागिता रहने छैनन् । फुपु एसियाड र जापानको टोकियोमा हुने ओलम्पिक २०२० को तयारीमा रहेकी छिन् । उनी जापानमा हाल विशेष तयारी लिइरहेकी नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जनाएका छन् ।

बज्राचार्यले उनीबाट पदक जिताउन विशेष तयारी गरेको पनि बताएका छन् । फुपुले यसअघि ब्राजिलमा भएको ओलम्पिक खेलकुदमा सहभागिता जनाएकी थिइन् । हालसम्म नेपाली जुडोले एसियाडमा पदक जितेको छैन । कराते, तेक्वान्दो, बक्सिङ खेलबाट नेपालले एसियाडमा पदक जितिसकेको छ ।

हंगेरीको संभावना
एसियाली खेलकुदका लागि छनोट भएका खेलाडीलाई हंगेरीमा प्रशिक्षण गराउन लागेको पनि अध्यक्ष वज्राचार्यले जानकारी गराएका छन् । उनले हंगेरीको बुडापेस्टमा हुने यही साउन २५ गतेदेखि २७ गतेसम्म हुने तीन दिने बुडापेस्ट ग्रान्ड प्रिक्स्समा सहभागिता गराउने आशा गरेका छन् । उनले बताए—यदि साउन २२ गते भीसा उपलब्ध भएमा साउन २३ गते बुडापेस्टका लागि प्रस्थान गर्छौ । खेलाडीले प्रशिक्षणका साथै प्रतिस्पर्धा गर्न पाएमा खेलाडीको स्तर मापन गर्न आधार बन्ने विश्वास हो ।