ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ


वासिङटन ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत जाने निश्चित भइनसकेको अमेरिकाले स्पष्ट पारेको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले राष्ट्रपति ट्रम्पलाई भारतले भ्रमणका लागि निमन्त्रणा दिएको तर ट्रम्प जाने निश्चित भने भइनसकेको स्पष्ट पारेको हो ।

ह्वाईट हाउसका प्रवक्ता सराह सान्डेर्सले बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले एसियाली देशहरुको भ्रमण गर्ने तयारी गर्नु भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “भ्रमणका लागि निमन्त्रणा आएको अवश्य हो, तर यस बारेमा कुनै निर्णय भइसकेको मलाई लाग्दैन ।”
वासिङटन र नयाँ दिल्लीकाबीचमा गहिरो र दीर्घ रणनीतिक सम्बन्ध रहेको उहाँले पत्रकारहरुलाई बताउनुभयो ।
आउँदो जनवरीमा हुने भारतको गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथिका रुपमा उपस्थित भइदिनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गत जुलाईको सुरुमै निमन्त्रणा गरेको समाचार भारतीय संचारमाध्यमहरुले प्रकाशन तथा प्रसारण गरेका थिए ।
त्यही समाचारको खण्डन गर्दै ह्वाईट हाउसका प्रवक्ताले अहिले कुनै निश्चित नभएपनि भविष्यमा भ्रमणका बारेमा छलफल तथा तयारी सुरु हुने जानकारी दिनुभयो ।
रासस