गाउँपालिका भित्रका सहकारीको वस्तुस्थिति बुझ्न अन्तरक्रिया


नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङमा मस्र्याङ्दी गाउँपालिकाले गाउँपालिका भित्रका सहकारीको वस्तु स्थिति बुझ्न अन्तरक्रिया कार्यक्रम गरेको छ । गाउँपालिकाले सहकारी नीति निर्माण गर्न लागेको र त्यसको आधार खोज्नका लागि सो अन्तरक्रिया गरिएको हो ।

गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रका सहकारीका संचालक समितिका अध्यक्ष, सचिव र प्रबन्धकहरूसङ्ग सहकारीको कारोबारको अबस्था, उद्देश्य लक्ष्य र सहकारीको ऐन, नियम र नियमवाली अनुरुप सञ्चालन भए नभएको बिषयमा अन्तरक्रिया गरिएको सो गाउँपालिकाका उपाध्यक्ष होम विकले बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षता भएको कार्यक्रममा उहाँले सहकारीहरुले ऐन, नियम, निमावली र उदेश्य अनुरुप सञ्चालन गर्न निर्देशन दिदै गाउँपालिकाले तय गरेको समृद्ध गाउँपालिकाको अवधारणामा सहयोग गर्न अपिल गर्नुभएको थियो । उहाँले उद्देश्य अनुरुप लगानी बढाउन अनुरोध गर्दै उत्पादनमा लाग्ने सहकारीहरूलाई आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनु भयो ।
गाउँपालिका उपाध्यक्ष होमबहादुर बि.क.ले गाउँपालिकालाई तरकारी, दूध, अण्डा, माछा, मासुमा आत्मनिर्भर बनाउने नीति तय गरिएको हुनाले कृषि, पशु, पर्यटनको क्षेत्रमा लगानी गर्न अनुरोध गर्नु भयो । वार्ड न.– ७ का अध्यक्ष युवा घलेले सहकारीको महत्व र आवश्यकता बारेमा प्रकाश पार्नु भएको थियोे ।

कार्यक्रममा संचालक समितिका अध्यक्ष र प्रबन्धकहरूले आफ्नो सहकारीको कारोवार, पूँजी, कारोवारको अवस्था र गतिविधिको बारेमा संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ सापकोटाले गर्नुभएको थियोे भने वार्ड न.– ८ का वार्ड अध्यक्ष हिरादेवी गुरुङले स्वागत गर्नुभएको थियो । उक्त गाउँपालिकामा सहकारी डिभिजन कार्यालय, दमौलीबाट गाउँपालिका भित्र सञ्चालित ३१ वटा सहकारी संस्थाहरूको अभिलेख हस्तान्तरण भएको जानकारीमा आएको छ ।