बिभिन्न मुद्दाका चारजना पक्राउ


कृष्णउदास खनाल, वीरगन्ज ।
जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा एक जना फरार अभियुक्त र अन्य लागू औषध ओसार प्रसारमा संलग्न व्यक्ति रहेका छन् । जिल्लाको जिराभवानी गाउँपालिका ३ बस्ने ६५ बर्षकी बालकृष्ण चौधरी, चितवन राप्ती नगरपालिका वडा नं। ७ बस्ने १८ बषिर्य सुदीप परियार र सोही गाउँपालिका वडा नम्बर २ बस्ने २० बर्षका अजित श्रेष्ठ, वीरगन्ज महानगरपालिका १३ मुर्ली बस्ने २२ बर्षका अरमान अलि अन्सारीलाई पक्राउ गरेको हो ।
अदालतको आदेशले सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका बालकृष्ण चौधरीलाई प्रहरीले साउन १६ गते गाउँबाटै पक्राउ गरेको थियो । गाउँमा लुकीछिपी बसिरहेको अवस्थामा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले परियार र श्रेष्ठलाई वीरगन्ज १६ रजतजयन्ती चोकबाट लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट १५०र१५० गरी जम्मा ३०० पिस लागूऔषध नाईट्रोभेट ट्याबलेट बरामद गरेको थियो भने भारतबाट नेपाल तर्फ पैदल आउँदै वीरगन्ज महानगरपालिका १६ बसपार्कबाट अरमान लागू औषधसहित पक्राउ परेका हुन् ।
त्यसैगरी भन्सार छली गैरकानुनी तवरले भारतबाट नेपाल ल्याउँदै गरेको लसुन र चामल बरामद गरेको छ । वीरगन्ज महानगरपालिका वडा नं ८ बाट ४ बोरा लसुन र १५ बोरा चामल बरामद गरिएको हो । बरामद गरिएको चामल र लसुन थप अनुसन्धान र आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको पर्सा प्रहरीले जनाएको छ ।