युवाद्वारा १२ बुँदे ज्ञापनपत्रमार्फत स्थानीय तहको ध्यानाकर्षण


नेपाल समाचारपत्र, लमजुङ ।
लमजुङका युवाहरुले स्थानीय सरकारको ध्यानाकर्षण गर्दै १२ बुँदे ज्ञापज्ञ पत्र बुझएका छन् । जिल्ला समन्वय समिति मार्फत युवा लक्षित कार्यक्रम सञ्चालनको माग गर्दै ज्ञापन पत्र बुझाइएका हुन् ।
जनचेतना अभिबृद्धि तथा विकास अध्ययन समिति (कोपाडेज) लमजुङको संयोजनमा सो कार्य गरिएको हो । जिल्लाका युवा सरोकारवाला सँस्था तथा क्लवहरूका अगुवाहरूले जिल्ला समन्वय समितिका समन्वय अधिकारी अन्तरबहादुर सिलवाललाई ज्ञापनपत्र बुझाई सवै स्थानीय तहमा ध्यानाकर्षण गराएका हुन् ।
स्थानीय तहले युवाहरुका लागि उत्प्रेरणा जगाई विकास निर्माणमा युवाहरुको सहभागितालाई विशेष प्राथमिकता दिनु पर्ने, स्थानीय तहमा युवाहरुको बस्तुगत विवरण (प्रोफाईल) तयार गर्ने र समयानुकुल अध्यावधिक गर्ने, युवाहरूलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रमहरू तर्जुमा गरी युवाहरुको सीप र क्षमता विकासका साथै उनीहरुको सशक्तिकरणमा सहयोग गर्ने उल्लेख छ । ज्ञापन पत्रमा समुदाय विकासमा युवालाई सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्न राष्ट्रिय युवा नीतिहरुलाई आत्मसात् गर्दै प्रदेश र स्थानीय नीति समेत तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने लगायतका १२ बुँदे माग समावेश गरिएको छ ।
कोपाडेसद्वारा सञ्चालित २५ वटा स्काई क्लव, अन्तराष्ट्रिय सञ्जालमा आवद्ध रोट्रयाक्ट क्लव अफ लमजुङ, लमजुङ जेसिज, जिल्ला युवा समिति, लमजुङ मस्र्याङदी युवाक्लव र अन्य स्थानीय युवा क्लवका अध्यक्ष तथा प्रतिनिधिहरूले उक्त मागमा एक्यवद्धता जनाएका छन् । उनीहरूले जिल्ला समन्वय समिति मार्फत जिल्लाका आठ ओटै स्थानीय तहमा सो ज्ञपानपत्रमार्फत ध्यानाकर्षण गराएको लमजुङ मस्र्याङदी युवाक्लवका अध्यक्ष जुन तामाङले बताउनु भयो ।
यसैगरी, श्रोत र सम्भावनाको समूचित प्रयोग गरी युवाहरु विदेशीने बाध्यतालाई न्युनिकरण गर्दै स्थानिय सरकारले युवा स्वरोजगारको वातावरण सृजना गर्न सकेमात्रै मुलुकको समृद्धि सम्भव हुने भन्दै यसै अनुरुप स्थानिय तहले कार्यक्रम ल्याउनुपर्नेमा रोट्रयाक्ट क्लवका अध्यक्ष सुजन श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार संविधानमा उल्लेखित युवा अधिकार र राष्ट्रिय युवा नीति प्रभावकारी कार्यान्वयन नभएको र राज्यले युवा शक्तिलाई परिचालन गर्न नसक्दा मुलुकको विकास नहुनुको साथै बेरोजगार र बैदेशिक रोजगारी बढेकोले समयमै ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाइएको हो ।
युवाहरूलाई विकास निर्माणको मुल प्रवाहमा ल्याउन राज्यले राष्ट्रिय नीति बनाईसकेको र त्यो राष्ट्रिय नीतिलाई सँघ, प्रदेश र स्थानीय सरकारले थप व्यवस्थीत बनाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने जिल्ला युवा समितिका अध्यक्ष विवश बुढाथोकीले बताउनु भएको छ ।
राज्यले युवा लक्षित कार्यक्रम सञ्चालन गर्दै आएपनि सवै युवाहरु त्यसबाट लाभान्वित हुन नसकेको आदर्श युवा क्लवका सचिव पुर्ण विकले बताउनु भयो । उहाँका अनुसार युवाहरूलाई प्रतक्ष्य सहभागिता गराएर लाभान्वित हुने गरी कार्यक्रम सञ्चालन हुनुपर्छ ।
सो ज्ञापन पत्र बुझ्दै आफूले जिल्लाका सबै स्थानीय निकायलाई सो पत्र पठाई यसतर्फ ध्यान दिन आग्रह गर्ने जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी अन्तरबहादुर सिलवालले बताउनु भयो ।