सल्यानबाट ६० करोडको खसी निकासी


सरिता चलाउने, सल्यान ।
सल्यानबाट ६० करोड भन्दा बढिको खसीबोका जिल्ला बाहिर निकासी भएको पाइएको छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा जिल्लाबाट ६० करोड भन्दा बढिको खसीबोका जिल्ला बाहिर निकासी भएको जिल्ला पशुसेवा कार्यालय सल्यानले जनाएको छ ।
सल्यान वाख्रा पालनका लागि निकै संभावना भएको र उपयुक्त ठाऊ मानिन्छ । यहाँका किसानहरुको घर घरमा वाख्रा पालन गर्ने गरेका छन् । यस जिल्लामा ५ लाख भन्दा बढी संख्यामा बाख्रा पालन हुदै आइरहेको जिल्ला पशु सेवा कार्यालय सल्यानका प्रमुख बाल कुमार श्रेष्ठले बताए । उनले भने गत आ.वमा मात्रै जिल्ला बाहिर ५० हजार खसीबोका निकासी भएका छन् । प्रतिगोटा सरदर १२ हजारका दरले मात्रै हिसाब गर्दा पनि ६० करोड जिल्लामा भित्रिन्छ ।
सल्यानको खसी बोका काठमाण्डौ, पोखरा, धनगढी लगायतका प्रमुख शहरहरुमा बढि माग हुने गर्दछ । सल्यानको खसी बोका भनेपछि अन्य जिल्लाको तुलनामा व्यापारीहरुले बढि मुल्य हाल्ने गरेको प्रमुख श्रेष्ठको भनाई रहेको छ । उनले भने सल्यानमा व्यवसायिक बाख्रा पालन गरेपछि जंगलमा चराउन लैजाने चलन छ । जंगलमा घाँससँग सँगै जडिबुटिहरु पनि खाने भएकाले निरोगी, स्वस्थ र खानका लागि राम्रो हुने भएकाले व्यापारीहरुले सल्यानको खसीबोका भनेपति अन्य जिल्लाको तुलनामा बढि मुल्य हाल्न कुनै कन्जुस्याई गर्दैनन् । जिल्लाबाट कपुरकोट, सल्लीबजार, कालिमाटी रामपुर लगायतका नाकाबाट खसीबोका निकासी हुने गर्दछन् ।
जिल्लामा व्यवसायिक बाख्रा पालन फस्टाउदै गएका कारण पनि खसीबोका निकासी हुने क्रम बढी रहेको छ । प्रत्येक घरले सामान्य तह ३ देखि ५ ओटासम्म बाख्रा पालन गर्दै आइरहेको श्रेष्ठको भनाई रहेको छ । सल्यान जिल्ला मासुमा समेत आत्मनिर्भर जिल्लाको रुपमा चिनिन्छ ।
ब्यवसायिक वाख्रा पालनका लागि कृषकहरुलाई आर्कषित गर्न गतवर्षसम्म पसु सेवा कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरिएको थियो । बाख्रापालन प्रवद्र्यनका लागि साना किसान र व्यवसायिक किसानलाई वर्गिकृत गरी खोर सुधार अनुदान, उन्नत घाँसको विउ वेर्ना वितरण, वजारिकरणका लागि संकलन केन्द्र संचालनमा सहयोग, संक्रामक रोग विरुद्ध निशुल्क खोप सेवा लगाएत कृत्रिम गर्भाधान सेवा संचालन र अन्य प्राविधिक सहयोग गर्ने गरेकोे श्रेष्ठले बताए । उनले भने जिल्लालाई वाख्रा पालनमा उदाहरणीय वनाऊन विभिन्न कार्यक्रम सञ्चालन हुदै आइरहेको छ ।