नेपाल एसिया रग्बी सेभेन्समा


काठमाडौं, (नेस)
गत हप्ता मात्रै एसियन रग्बीको पूर्ण सदस्यता पाएको नेपालले यही साता सिंगापुरमा हुने एसिया रग्बी सेभेन्स ट्रफी खेल्ने भएको छ ।

यही साउन १९ र २० गते ( ३ र ४ अगस्ट) मा हुने प्रतियोगितामा सहभागि हुने नेपाली टोलीको बुधबार विदाइ भयो । कृष्णको कप्तानीमा रहेको नेपालले आफ्नो समूह ‘बी’ मा युएई, जोर्डन र इन्डोनेसियासँग चुनौती प्रस्तुत गर्नेछ । लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा समूह ‘ए’ मा थाईल्यान्ड, इरान, काजाखस्तान र उज्बेकिस्तान तथा समूह ‘सी’ मा सिंगापुर, पाकिस्तान, बंगलादेश, ब्रुनाई र लाओस छन् ।

गैरवरीयतामा रहेको नेपाली टोली यसपटक शीर्ष ४ भित्र पुग्ने लक्ष्य रहेको मुख्य प्रशिक्षक श्रींलकाली राधिका हेटियाच्चीले बताए । कप्तान कृष्णले भने ‘ हामीले २ महिनादेखि विदेशी प्रशिक्षकको मद्दतले निकै कडा मेहनत गरेका छौँ । हामीसँग र अनुभवी र केही नयाँ युवा खेलाडी पनि छन् । उनीहरुले मेहनतले हामी सफल हुनेछौँ भन्नेमा विश्वस्त छु ।’

टोलीको उपकप्तानमा विराट श्रेष्ठ, कृष्णप्रसाद धमला, श्रीराम श्रेष्ठ, विराट ऐडी, हुतराज प्रधान, प्रेमबहादुर कोइराला, बिक्रम पुरी, जनक वाइवा, झुकेन राई, सन्जय अधिकारी र सिकिन्दर अधिकारी रहेका छन् । नेपाली टिमको प्रशिक्षकमा श्रीलंकाली राष्ट्रिय टिमका पूर्वकप्तानसमेत रहेका राधिका, टिम व्यवस्थापकमा इन्द्रबहादुर तामाङ र फिजियोमा लक्ष्मण अधिकारी रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल युएइसँग खेल्नेछ । प्रत्येक समूहका शीर्ष २ टोली र अंकका आधारमा थप २ टिमले क्वार्टरफाइनलमा खेल्नेछ । क्वार्टरमा विजेता ४ राष्ट्रले च्याम्पियनको लागि खेल्दा पराजित ४ टोलीले प्लेट च्याम्पियनसिप खेल्नेछ ।