नेपाल र बंगलादेस एकै समूहमा


काठमाडौं, (नेस)
आगामी भदौ १९ गतेदेखि बंगलादेसमा हुने साफ च्याम्पियनसिपमा नेपाल आयोजक राष्ट्र बंगलादेससँगै एउटै समूहमा परेको छ ।

बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको खेलतालिकाअनुसार नेपालको समूहमा बंगलादेश, पाकिस्तान र भुटान रहेका हुन् । समूह ए मा रहेको नेपालले भदौ १९ गते पाकिस्तानसँग पहिलो खेल खेल्नेछ । यस्तै भदौ २१ गते भुटानसँग खेल्ने नेपालले भदौ २३ गते बंगलादेससँग प्रतिस्पर्धा गर्नेछ ।

बी समूहमा गत संस्करणको विजेता भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । राउन्ड रोविन लिगमा आधारमा संचालन हुने प्रतियोगितामा समूहका शीर्ष दुई टोली अन्तिम चारमा प्रवेश हुनेछन् । फाइनल खेल भदौ ३० गते हुनेछ ।

नेपाली टोली शुक्रबार यसै प्रतियोगिताको तयारीका लागि थाइल्यान्ड जाँदैछ । नेपालले थाइल्यान्डमा ए डिभिजन क्लबसँग खेल्ने जनाएको छ । प्रशिक्षक बालगोपाल महर्जनको अनुसार नेपालले सकेसम्म राम्रो टिमसँगै प्रतिस्पर्धा गर्ने बताएका छन् । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपमा उपाधि जित्न सकेको छैन । यसपटक नेपालले उपाधि जित्ने आशा गरेको छ ।