ढुकुटीको दुरुपयोग नहोस्


लाखौं नेपाली युवायुवती विदेश गई कमाएर रोएल्टी तिरेको पैसा नेताको आसेपासेलाई दिने चलन आज मात्र हैन सदियौंदेखि चलिआएको छ नेपालीले पसिनाको धारा बगाएर आफूले खाई नखाई सरकारलाई कर तिरेको पैसा किन यति धेरै दुरुपयोग गरिन्छ ?

सरकारले ढुकुटीमा फुत्त आफैं आएजस्तो ठानेर दुई–चारजना नेताहरुको निर्णयमा सरकारी ढुकुटी स्वाहा पार्ने नियति कहिलेसम्म चलिरहने हो ? यहाँहरुलाई आलिसान बंगलामा राखेर पजेरोमा चढाउने जनता आज भोकभोकै मरिरहेका छन्, यहाँहरु सुखसयल र मोजमस्तीमा बस्नुभएको छ । यसमा कुनै आपत्ति छैन तर यति धेरै सुविधा दिँदादिँदै पनि सरकारी ढुकुटी आफू अनुकूलका व्यक्तिलाई दिने नियतिले गर्दा जनताको मन दुखेको छ ।

एउटा नेपाली नागरिक विदेशमा ५८ डिग्रीको तापक्रममा काम गर्छ र सरकारलाई रोयल्टी तिर्छ, बचेको पैसा घर पठाउँछ अनि घरमा ऊ फर्किने बेलासम्म उसले कामाएको पैसा सकिइसकेको हुन्छ । घरमा आउँदा उसको जवानी पनि सकिइसक्छ । अनि टाउकोमा हात राख्दै भन्छ– ‘हे प्रभु ! मलाई किन गरिबको कोखमा जन्म दियौ ? आज म काम पनि गर्न सक्दिनँ, कसैले केही दिँदैन । भएको पैसा सरकारलाई रोयल्टी तिर्दा र बालबच्चा पढाउँदै सकियो ।’

हेमन्त राणाले त्यसै ‘परदेशबाट म आउँला, ४० कटेसी रमाउँला’ भन्ने गीत गाएका हैन रहेछन् । यस्तै पीडालाई समेट्न नसकेर गाएका रहेछन् । एउटा युवा, आफ्नो जोशिलो जवानीमा देशका लागि केही गर्न सक्ने भए पनि विदेशमा गएर आफ्नो जवानी पत्करको भाउमा बेच्न बाध्य छ । यहाँ ठूला–ठूला सपना बाडिन्छ । अझ चुनावको बेला त आकशै झार्छौं भनेझैँ गरी गुलिया भाषण गरिन्छ । यो प्रवृत्ति सबैको पालामा भएको छ । तपाईं नेताहरु सबैको नेता हो भने यस्ता कुरामा ध्यान जाओस् ।

अझै भूकम्पपीडितहरुले घर बनाउन नसकिरहेको अवस्था छ । यसमा सरकारको ध्यान जानुपर्ने हो । तर यहाँ खाली आफ्नो स्वार्थको लागि मात्र काम हुँदै छ । जनता बलिया भए भने नेता आफैं भलिया हुन्छन् भन्ने धारणा कहिले आउला खै ? पहिला देश र जनतालाई धनी बनाउनुस् अनि नेता बलियो हुन्छ, नत्र विदेशीसँग अनुदान र रिण लिनेभन्दा बाहेक केही गर्न सकिन्न । त्यसैले अब एकचोटि देश र जनाताका लागि सोच्ने हो कि ?
– उज्वल अधिकारी, सरस्वती क्याम्पस, ठमेल
सूर्यबहादुर घिमिरे, च्यामा, दोलखा