आन्दोलन सरकार ढाल्न नभई सरकारलाई खबरदारी गर्न


नेपाल समाचारपत्र, भक्तपुर ।
नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले नेपाली काँग्रेसले वर्तमान सरकार ढाल्नका लागि आन्दोलन गरेको नभई सरकारलाई सचेत गराउनका लागि आन्दोलन गरेको बताउनुभएको छ । मूल्य वृद्धिलगायतको विरोधस्वरुप नेपाली काँग्रेसले भक्तपुरको कमलविनायकबाट निकालेको ¥याली दूधपाटी आएर समापन गर्ने क्रममा उहाँले सरकारलाई गलत काम नगरोस् भनेर सचेत गराउन तथा देशव्यापी रुपमा भएको मूल्य वृद्धिलगायत विभिन्न शीर्षकमा भएको कर वद्धि घटाउन माग गरेको बताउनुभयो ।
थापाले सरकारले नागरिकलाई थप पीडा दिने काम मात्रै गरेको आरोप लगाउनु भयो ।उहाँले चर्को मूल्यवृद्धि, कर थोपरेर तीन वटै तहको सरकारले नागरिकलाई थप पीडा दिएपछि सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गर्नु परेको स्पष्ट पार्नुभयो ।२०४७ सालपछिकै शक्तिशाली सरकार बने पनि यसले आफ्नो अस्तित्व रहने गरी दायित्व बहन गर्न नसकेको आरोप लगाउनुभयो ।
सभापति थापाले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको दावी गर्नुभयो ।कार्यक्रममा काँग्रेसका पूर्व सभापति गणेशमान चक्रधर, क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमली,रबिन्द्र प्रधान लगायतले सरकारले गलत गरे काँग्रेस सडकमा आउँने बताउनुभयो ।कमलबिनायकबाट सुरु भएको बिरोध र्याली नगरका बिभिन्न भागको परिक्रमा गरि दुधपाटीमा आएर सभामा परिणत भएको थियो ।