डा. केसीलाई आईसीयूबाट वार्डमा सारियो


भगवती तिमल्सिना, काठमाडौ ।
चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा.डा.गोविन्द केसीलाई आईसीयू (सघन उपचार कक्ष) बाट मंगलबार वार्डमा सारिएको छ । चिकित्सा शिक्षाको स्थायी व्यवस्थापन तथा सुधारको माग राख्दै २७ दिन लामो आमरण अनसन बस्नुभएका डा.केसीलाई अनसन तोडे लगत्तै त्रिवि शिक्षण अस्पतालको आईसियु कक्षमा उपचारार्थ राखिएको थियो ।
डा.केसी ६ दिनको आइसियु बसाइ पछि , मंगलबार वार्डमा सारिएको हो । लामो सत्याग्रहका कारण शरिरमा आएका विभिन्न परिवर्तनहरुको उपचार गर्न आइसियुमा राखिएको थियो । विशेषत रगतमा पोटासियमको मात्रामा भएको गढबढी, रक्तचापमा आइरहने व्यापक फेरबदल र सेतो रक्तकोशिकाको संख्या निकै नै न्यून भएका कारण चिकित्सकको सल्लाह बमोजिम डा.केसीलाइ आइसियुमा राक्गिएको थियो ।
मंगलबार गरिएको रगतको परिक्षण र इसिजिमा सुधारका संकेतहरु देखिनासाथ उहाँलाइ वार्डमा सारिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएकाछन् । चिकित्सकहरुको अनुसार अझै पनि संतोषजनक रुपमा सेतो रक्तकोशिकाको संख्या नबढेको, रक्तचाप मेन्टेन नभएको र नसाबाट विभिन्न खाले औषधि दिइरहनु पर्ने भएका कारण अस्पातालकै मेडिसिन विभाग अन्तर्गत भर्ना गरि डा.केसीको उपचार भइरहेको छ ।
उहाँलाइ डिस्चार्ज गर्न अझै एक हप्ता कुर्नुपर्ने र सम्पुर्ण रुपमा निको हुन ४ देखि ५ हप्ता लाग्न सक्ने चिकित्सकहरुको भनाइ छ ।