दोश्रो बिश्वयुद्ध योद्धाको मृत्यूले लामिडाँडा गाउँ शोकमा


रामधन राई, खोटाङ ।
खोटाङ रावाबेंसी गाउँपालिका–३ लामिडाँडामा जन्मी दोश्रो बिश्वयुद्ध लड्नुभएको योद्घा पत्थरमान राईको निधन भएपछि पुरै गाँउ शोकमा परेको छ । गाउँकै अभिभावकको रुपमा मानिएको योद्घा राईको ९५ बर्षको उमेरमा निधन भएपछि लामिडाडाँमा शोक परेको हो ।
सोमबार मृत्यु भएको राईले बि.सं. २००० सालमा दोश्रो बिश्वयुद्ध लड्नुभएको थियो । अपच हुने समस्या भएपछि असार २५ गते उपचारका लागि काठ्माण्डौं लगिएका दोश्रो बिश्वयुद्धका योद्धा राईको घर ल्याउनेक्रममा घुर्मीमा मृत्यु भएको हो । हप्ता दिन अस्पतालमा राखेपछि डिस्चार्ज गरिएका राईले घर फर्कने इच्छा देखाउनुभएपछि घर फर्काउने क्रममा बाटैमा निधन भएको आफन्त पदम थुलुङले बताउनुभयो । बाबु गजवसिं राई र आमा सरिमायाँको कोखबाट बि.सं. १९८० साल माघ २ गते जन्मिनुभएको राईको मंगलबार गाउँमा अन्तिम दाह संस्कार गरिएको छ ।
दोश्रो बिश्वयुद्ध चलिरहेकै बेला राती साथीहरुसँग भागेर गल्लावाल पछ्याउँदै १९ वर्षको उमेरमा बि.सं. १९९९ सालमा भर्ती हुनुभएका राईले दोश्रो बिश्वयुद्धमा जापानी सेनाविरुद्ध बहादुरी पुर्वक लड्नु भएको थियो । पल्टन नम्बर टेनजिआर १०९९९६ भएका राई घाईते अवस्थाका जापानी सेनाले प्रहार गरेको ग्रिनेटले लाग्दा गम्भीर घाईते हुनुभएको थियो । ग्रिनेटको छर्राले उहाँको शरीर छिया–छिया बनेको थियो । ग्रिनेटले चिउँडो उँडायो । देब्रे हातको चोर औंला चुँडियो, दायाँ हातको पाखुरामा छर्रा लाग्दा नशामा अशर पुगेकाले सबै औंला बांगिएको थियो ।
घाईते भएपछि युद्ध मैदानबाट उपचारमा लगिएका राईको अस्पतालमै ४ वर्ष ६ महिना बितेको थियो । अस्पतालमा लगिएका राईको ग्रिनेटले चुँडाएको चिउँडोमा टाउकाको छाला काटेर दारी बनाइएको थियो । उहाँको १८ ठाउँमा शल्याक्रिया गरिएको आफन्तले जनाएका छन् । शरीरकै छाला काटेर उहाँको ओठका रुपमा टाँसिएको थियो भने नक्कली दाँत हालिएको आफन्त बताउँछन् । लडाईंमा छियाछिया भएको शरीर टालटुल गरिएको थियो ।
२००२ सालमा जापानले आत्मसमर्पण गरेपछि दोश्रो बिश्व युद्ध टुंगिएको केही वर्षसम्म पत्थरमानले अस्पतालको बेडमै बिताउनु भएको थियो । युद्धबाट फर्किएर बिवाह गर्नुभएका राईको ६ बहिनी छोरी र एक छोरा हुनुहुन्छ ।