‘ई–प्लानेट नेसनल कप फुटसल’को ड्र सार्वजनिक, पहिलो खेलमा आयोजकसँग आईएसएमटी भिड्दै


नेपाल समाचारपत्र, काठमाडौं ।
बिहीबार सुरु हुने दोस्रो ‘ई–प्लानेट नेसनल कप फुटसल’ प्रतियोगिताको समुह तालिका सार्वजनिक गरिएको छ । मंगलबार भएको ड्रबाट प्रतियोगिताको पहिलो खेलमा आयोजक नेसनल कलेजसँग आईएसएमटीले खेल्ने पक्का भएको छ ।
देशभरका ४० वटा कलेजले सहभागिता जनाएको प्रतियोगितामा सहभागि ४० टिमहरुलाई ८ समूहमा विभाजन गरिएको छ । जसअनुसार समूह ए मा आयोजक नेसनल कलेजको ‘ए’ टिमसहित आइएसएमटी कलेज, एपेक्स कलेज ‘बि’, नभोदित कलेज र डीएभी कलेज रहेका छन् । त्यसैगरी, समूह बी मा यूनिग्लोव, मल्पि, एसीसी, एनईसी र आईएसटी रहेका छन् । समूह सि मा सान, एस इन्टिच्युट, न्यू जेनिथ, सिल्भर माउन्टेन र केईसी ‘ए’ रहेका छन् ।
त्यस्तै, समूह डि मा एस विजनेस, मदन भण्डारी मेमोरियल, क्याम्पियन, साइम, मदन आश्रित कलेज रहेका छन् ।
त्यस्तै, समूह ई मा कान्तिपुर इन्टरनेसनल, एपेक्स ‘ए’, सनवे, अल्टरनेट इन्टिच्युट र आइडल कलेज रहेका छन् भने प्रतियोगिताको समूह एफमा एस इन्टिच्युट अफ म्यानेजमेन्ट, किंग्स, गेटवे, भिरिन्ची कलेज र कुमारी एकेडेमी रहेका छन् ।
आयोजकका अनुसार समूह जि मा टाइम्स इन्टरनेसनल, काठमाडौं मेडिकल कलेज, कोलोम्बस, न्याथम र केइसी बि रहेका छन् भने समूह एच मा रिट्ज, एनसीएम, ब्रिटिस कलेज, मजेस्टी इन्टिच्युट सँगै आयोजक नेसनल कलेजको बि टिम रहेको छ ।
प्रतियोगिताका समूह चरणका खेल राउन्ड रोविनको आधारमा र त्यसपछिका खेल नकआउट हुने आयोजकले जानकारी दिएको छ । समुह चरणको उदटन खेल बिहीबार ९ बजे सुरु हुनेछ ।
मुख्य प्रायोजक एजुकेसन प्लानेट (ई–प्लानेट) प्रालि तथा सह–प्रायोजक नेपाल एसबीआई बैंक रहेको प्रतियोगितामा टेन प्लस टु र ब्याचलर लेभलका विद्यार्थीले सहभागीता जनाएका छन् ।
दुईदिने यो प्रतियोगिताको विजेताले नगद ३५ हजार रुपैयाँसहित कूल ५० हजार रुपैयाँ बराबरको पुरस्कार तथा दोस्रो हुनेले नगद २० हजार रुपैयाँसहित कूल ३० हजार रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछन् । यसका साथै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने एक खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलकिपरले पनि आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् ।
धुम्बाराहीस्थित नेसनल कलेजले आयोजना गरेको प्रतियोगिताको सबै खेल बालुवाटारस्थित ढुकु फुटसल हबमा खेलाइने छ ।
१६ टोली सहभागी रहेको गत वर्ष आयोजित प्रतियोगिताको उपाधि आयोजक नेसनल कलेजले जितेको थियो ।