६० बर्ष बित्दा पनि आएन भेलछडाको पानी



विमल विष्ट, डोटी ।
गएको २०१६ सालमा प्रथम आम निर्वाचनमा शिवराज पन्तले केलनाको पानी जिल्ला सदरमुकाम सिलगढी र भेल्छडाको पानी पश्चिम चौकी ल्याउने बाचा गर्नु भयो । उहाँ चुनाव जितेर मन्त्री पनि हुनु भयो । उहाँले कलेनाको पानी जिल्ला सदरमुकाम ल्याउने बाचा पूरा त पुरा गर्नु भयो । भेल्छडाको पानी पश्चिम चौकी पु¥याउने बाचा भने बिर्सिनु भयो ।

त्यसपछिका निर्वाचनहरुमा भेल्छडाको पानी सबैका लागि प्रमुख चुनावी मुद्दा बन्दै गयो, तर निर्माण कहिल्यै पुरा भएन । ‘शिवराज पन्त मन्त्री हुँदा सायल भेल्छडाको पानी पश्चिम चौकीमा ल्याउने भन्ने कुरा उठेको थियो रे, त्यति वेलादेखि यहाँका बासिन्दाहरुले भेल्छडाको पानीको आशा गरे तर त्यो सपना मात्रै भयो,’ डोटी आदर्श गाउँपालिका ३ का चन्द्रदेव पाठकले भन्नु भयो ‘हामीलाई भोट माग्दा सबैले आस देखाए तर बाचा कसैले पुरा गरेनन् ।’

गाउँपालिकाको केन्द्र मौवा नगरदहमा अहिले पिउनलाई पनि पानी नभएको भन्दै स्थानियहरु नेताहरु प्रति आक्रोसित भएका छन् । उनिहरु भन्छन् ‘ गएको २०४८ साल यताका सबै चुनावमा भेल्छडा खानेपानी योजना चुनावी मुद्दा बन्दै भयो तर कसैले पनि बनाएनन् ।’ २०४८ सालको निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका उम्मेदवार भक्तवहादुर बलाएरले भेल्छडा खानेपानीको बिषय उठाएको सम्झदै स्थानियबासी चन्द्रदेव पाठक थप भन्नु हुन्छ ‘बलायर ज्यूले तीन तीन पटक चुनाव जित्नु भयो, मन्त्री पनि हुनु भयो तर पनि पानी बनाउनु भएन ।’ तत्कालीन एमाले उम्मेदवार हर्कवहादुर सिंहले पनि २०६४ सालको निर्वाचनमा भेल्छडाकै नाममा भोट मागेको तर जितिसकेपछि चार बर्षे कार्यकालमा उहाँले पनि योजना वनाउन नसकेको आरोप स्थानियबासीको छ । २०७० सालमा काग्रेस बाट चुनाव जितेका वीरबहादुर बलायर र २०७४ मा एमाले बाट चुनाव जितेका प्रेमबहादुर आलेमगरको पनि चुनावी एजेण्डा भेल्छडा बनेको तर काम कसैले नगरेको पाठकले दुखेसो गर्नु भयो ।

स्थानियबासीहरु भन्छन् ‘अब स्थानीय सरकार बनेको छ, गाउँपालिकाले झिना मसिना योजना बनाउनु भन्दा पश्चिम चौकी क्षेत्रको खानेपानीको समस्या समाधानका लागि ठोस् योजना बनाइदिए हुन्थ्यो ।’ भेल्छडालाई चुनावी मुद्दा बनाउने पन्त र बलायरद्वय गरी तीन जना मन्त्री भए । सिंह चार वर्षसम्म संविधानसभा सदस्य रहे भने आलेमगर बर्तमान संघीय सांसद हुनुहुन्छ । तर, भेल्छडा भने जहाँको तही रहेको आदर्श गाउपालिका १ का कृष्णवहादुर खड्काले बताउनु भयो । उहाँले भन्नु भयो ‘वर्षतको समयमा यता उताको खोलामा पानी फुट्छ र अलि सजिलो हुन्छ तर फागुनदेखि असारसम्म त निकै दुःख छन् ।’ चुनावको बेलामा नेताहरुले पश्चिम चौकीको खानेपानीलाई राजनीतिक मुद्दा मात्रै बनाउने गरेको उहाँको गुनासो छ । पानी नभएका कारण व्यवसाय गर्न झनै समस्या भएको स्थानीय होटल व्यवसायीहरु बताउँछन् । गाउँपालिकाको केन्द्र भएपछि चहल पहल बढेको तर पानी नभएका कारण गाउँपालिकामा आउने सेवाग्राहीलाई समेत समस्या भइरहेको उनीहरुको गुनासो छ ।

खानेपानीको समस्या समाधानका लागि बृहत खानेपानी योजना लागू गर्ने तयारी भइरहेको आर्दश गाउँपालिकाका अध्यक्ष टेकबहादुर रोकायाले बताउनु भयो । ‘हामी खानेपानीको सम्भावनाको बिषयमा छलफल गर्दैछौं’ अध्यक्ष रोकायाले भन्नु भयो ‘सायल गाउँपालिकासंग पनि भेल्छडाका लागि छलफल गर्छौं, अन्य सम्भावनाहरु पनि खोजी गर्दैछौं ।’ खानेपानी निर्माणमा प्रदेश सरकार र अन्य संघ संस्थाहरुसँग पनि छलफल चलिरहेको उहाँले बताउनु भयो । भैल्छडाको पानी ल्याउन अव सम्भव नभएको बताउँछन् पूर्व माननीय लालवहादुर खड्का । आदर्श १ मौवा घर भएका खड्का भन्नुहुन्छ, ‘अव सायली गाडबाट पानी तान्ने वा डिप वोरिङ्ग गर्ने योजना बनाउनु पर्छ ।’ भेलछडाको पानी नआउदा मौवालगायत त्यस क्षेत्रका साविकका कालिकास्थान, खातिवाडा, महादेवस्थान, लामिखाल र बारवाटा गाविसहरुमा खानेपानीको समस्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्