चमेराका तीन नयाँ प्रजातिको अभिलेखन


काठमाडौँ ।
काठमाडौँ उपत्यकामा पछिल्लो समयमा गरिएको अध्ययनले चमेराका तीन नयाँ प्रजातिको अभिलेखन भएको छ । यो सँगै नेपालमा पाइने चमेराका प्रजातिको संख्या ५५ पुगेको छ ।
साना स्तनधारी प्राणी संरक्षण अनुसन्धान फाउण्डेशनले सन् २०१६ अगष्टदेखि २०१८ को अप्रिलसम्म उपत्यकाका १९ स्थानमा चमेराको आधारभूत अध्ययन गरेको थियो । विश्वमा एक हजार २०० प्रजातिका चमेरा पाइन्छन् ।

अध्ययनबाट नेपालको लागि नयाँ तीनवटा प्रजातिहरु साइनोप्टेरस् ब्रेकायोटिस्, मायोटिस् फ्रेटर् र निक्टालस् एभिएटर् प्रजातिका चमेराको अभिलेखन गरिएको फाउण्डेशनका निर्देशक सञ्जन थापाले जानकारी दिनुभयो । उक्त अध्ययनअनुसार नेपालमा पाइने चमेराका प्रजातिमध्ये केही लोपोन्मुख अवस्थामा रहेका देखिन्छन् ।

पछिल्लो समयमा चमेराको वासस्थान नष्ट हँुदै जानु, शहरमा घर तथा पूर्वाधार निर्माणले जमीन ढाकिँदै जानु, खेती प्रणालीमा परिवर्तन, विषादीको बढ्दो प्रयोग, मानवबस्तीमा रुख मासिनु र शहरमा बढ्दो प्रदूषणलगायतका कारण चमेराको संख्यामा कमी आएको हुनसक्ने फाउण्डेशनका निर्देशक थापाले बताउनुभयो ।

चमेराको महत्वबारेमा आवश्यक जानकारी नहुँदा यसको संरक्षणमा चासो बढ्न सकेको देखिदैन । नीतिगत तहमा चेतनाको कमीले चमेराको संरक्षणमा सरोकारवाला निकायले आवश्यक ध्यान दिन सकेको छैन् ।

चमेराले वनस्पतिमा परागशेचन तथा बीऊ ओसारपसार, हानिकारक तथा खेतबारी नष्ट गर्ने कीरा, लामखुट्टेलाई खाएर मानव जीवनलाई सहयोग गर्छ । फाउण्डेसनले अध्ययन र सम्बन्धित निकायसँगको अन्तक्र्रियापछि पञ्चवर्षीय ९सन् २०१८–२०२३० कार्ययोजना तयार गरेको छ । उक्त कार्ययोजना सरकारी निकायलाई बुझाउने तयारी गरेको निर्देशक थापाले बताउनुभयो ।

चमेरा नेपालका स्तानधारी प्राणीमध्ये सबैभन्दा धेरै प्रजाति भएको प्राणी भएकाले पारिस्थितिकीय प्रणालीमा यसको ठूलो महत्व रहेको जूलोजिकल सोसाइटी अफ लण्डन नेपालका प्रतिनिधि तथा चराविद् डा हेमसागर बरालले बताउनुभयो ।

चमेरा राति उड्ने प्राणी भएकाले यसको अध्ययनमा चुनौती रहेको चराविद् डा बरालको भनाइ छ । चमेरा मुलुकका हिमाल, पहाड र तराई सबै क्षेत्रका जंगल, घर, रुख र गुफालगायतमा पाइन्छ ।

चमेरा संरक्षणलाई नै केन्द्रित गरेर सरकारीस्तरबाट अध्ययन तथा अन्य कार्यक्रम भएको देखिदैन् । यद्यपि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले सन् २०११ मा प्रकाशन गरेको रेड डाटा बुकमा भने चमेराका बारेमा केही विषय उल्लेख गरिएको जनाएको छ ।
रासस