दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कामकाज आफ्नै भवनबाट शुरु


रामधन राई, खोटाङ । 
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका आफ्नै भवन निर्माण गरी कामकाज गर्ने जिल्लाकै पहिलो पालिका बनेको छ । गाउँपालिकाको ५ नम्बर वडामा पर्ने सप्तेश्वर छितापोखरी याङसोलाटारमा भुकम्प प्रतिरोधात्मक सुविधायुक्त भवन निर्माण सम्पन्न गरी सोही कार्यालयबाट सोमबारदेखि कामकाज सुरु गरिएको छ ।
याङसोलाटारका स्थानियवासीले निःशुल्क उपलब्ध गराएको ७ रोपनी ८ आना जग्गामा ७० लाख रुपैंयाँ लगानीमा निर्माण भएको भवन गाउँपालिका प्रमुख भुपेन्द्र राई र उपप्रमुख सपना राईले एकैसाथ उद्घाटन गर्नुभएको हो । भवनमा नौं वटा कोठा, एक सभाहल र चार वटा शौचालय रहेका छन् ।
यसअघि तीन कन्या प्राविको दुइ कोठे भवनमा असहज ढंगले कामकाज गरिरहेकोमा अव सहजता आउने अध्यक्ष भूपेन्द्र राईको भनाई छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङका अन्य स्थानीय तह भने अन्य कार्यालयमा ब्यवस्था गरिएको कोठाबाटै सञ्चालन हुँदै आएको छन् ।