थुलुङ भाषा पाठ्यक्रमको लागि गाउँपालिकाको सहयोग


रामधन राई, खोटाङ ।
थुलुङ भाषा पाठ्यक्रम निर्माणको लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको छ । पाठ्यक्रम निर्माणको लागि आर्थिक अभाव झेलिरहेको थुलुङ राई भाषा पाठ्यक्रम बिकास केन्द्रलाई सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।
थुलुङ राई भाषाको पाठ्यापुस्तक, शव्दकोष, व्याकरण प्रकाशन एबं बाल गीत तयार पार्ने क्रममा आर्थिक समस्यामा परेको केन्द्रलाई गाउँपालिकाले १ लाख ५० हजार आर्थिक सहयोग गरेको बताईएको छ । सोलुखुम्बु घर भई हाल कोरियामा रहेका २० शुभेच्छुकले १ लाख ६४ हजार ७० रुपैयाँ दिएको केही समयपछि नेचा सल्यान गाउँपालिकाका प्रमुख डुफकुमार बास्तोलाले थुलुङ राई भाषा पाठ्यक्रम विकास समितिका संयोजक खुम्सङ खम्बुलाई पाठ्यक्रम निर्माणार्थ चेक हस्तान्तरण गर्नुभएको हो ।
यसअघि थुलुङ भाषामा शिशु कक्षा र कक्षा १ को पाठ्यापुस्तक तयार पारेको थुलुङ राई भाषा पाठ्याक्रम बिकास केन्द्रलाई कक्षा २ को पाठ्यक्रम तयार पार्नका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको थुलुङ राई भाषा पाठ्याक्रम बिकास केन्द्रका सदस्य पदम थुलुङले बताउनभयो ।
खोटाङ, सोलुखुम्बु र ओखलढुंगाका थुलुङभाषीको बाहुल्यता रहेको विद्यालयमा भाषिक पठन–पाठनका लागि शुभेच्छुकबाट चन्दा उठाएर करिब ७ लाखको खर्चमा थुलुङ राई भाषाको शिशु कक्षा र कक्षा १ को पाठ्यपुस्तक तयार पारेको पाठ्याक्रम बिकास केन्द्रले बाँकी काम पूरा गर्न आर्थिक समस्या परेको जनाएका छन् ।
आफ्नै भाषामा पठनपाठन गराउन पाउँदा थुलुङभाषी अभिभावक हर्षित बनेका छन् । नयाँ तरिकाले पढ्न, लेख्न पाउँदा बालबच्चाको पनि रुचि भएको शिक्षकहरु बताउँछन् ।