फेरियो संरचना


ईश्वरराज ढकाल,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३ सरकारी निकायको संरचना परिवर्तन गरी एउटै कायम गरेको छ। परिवर्तन गरेको संरचनाको नाम शिक्षा तथा मानव स्रोत विकास केन्द्र रहेको छ। शिक्षा विभाग, अनौपचारिक शिक्षा केन्द्र र शैक्षिक जनशक्ति विकास केन्द्रलाई गाभेर नयाँ संरचना निर्माण गरिएको हो। साउन १ गतदेखि नयाँ संरचनाअनुसार काम अघि बढिसकेको छ। नवगठित केन्द्रको प्रमुखमा तत्कालीन शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललाई जिम्मा दिइएको छ। ४ सह–सचिवलाई उप–महानिर्देशकको जिम्मा दिइएको छ। उप–महानिर्देशकमा सह–सचिव खगेन्द्र नेपाल, टेकनारायण पाण्डे, दीपक शर्मा र चुडामणि पौडेललाई जिम्मा दिइएको छ। नयाँ संरचनाको आधारमा उप–महानर्देशकले काम गर्न थालिसकेका छन्।

मुलुक संघीय संरचनामा गएसँगै स्थानीय तहलाई सम्पूर्ण शैक्षिक अधिकार हस्तान्तरण भइसकेपछि बाँकी रहेका निकायलाई मर्ज गरी एउटै बनाइएको हो। ‘तीनवटै शैक्षिक एकाइको संगठनात्मक स्वरूपका रूपमा केन्द्रको स्थापना गरिएको शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले बताउनुभयो। उहाँले भन्नुभयो– ‘नयाँ संरचनाअनुसार काम शुरु भइसकेको छ। मन्त्रालयले केन्द्रमा रहेका महाशाखाले काम शुरु गरिसकेको जनाए तापनि हालसम्म कसरी कर्मचारी व्यवस्थापन गर्ने, कुन कर्मचारीलाई कुन निकायमा राख्ने भन्ने विषयमा निक्र्यौल गर्न सकेको छैन।’

केन्द्रले देशकै समग्र कर्मचारीलाई मानव स्रोत विकास, मानव स्रोत आवश्यकता प्रक्षेपण, मानव स्रोत परिचालनसमेतको राष्ट्रिय जिम्मेवारी हिसाबले नभई पुरानै काम कारबाहीलाई निरन्तरता दिने उल्लेख गरिएको छ। तीनवटा बृहत् शैक्षिक एकाइको एक स्वरूपका रूपमा निर्माण भएको एकाइ शिक्षा तथा मानव स्रोत विकास केन्द्रको संगठन संरचनाअनुसार केन्द्रमा ३ महाशाखा र १७ शाखाहरू बनाइएका छन्।

हाल गठन भएको केन्द्रको नयाँ संरचनाअन्तर्गत शैक्षिक योजना तथा विकास महाशाखा, शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखा र मानव संसाधन विकास महाशाखा छन्। शैक्षिक योजना तथा विकास महाशाखाअन्तर्गत योजना तथा अनुगमन, प्रारम्भिक बालविकास, विद्यालय शिक्षा मापदण्ड निर्धारण, शैक्षिक सूचना व्यवस्थापन र शासकीय सुधार गरी ६ शाखा निर्माण गरिएको छ। शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखाअन्तर्गत पाठ्यक्रम तथा सामग्री, श्रव्यदृश्य, शैक्षिक प्रविधि, अनौपचारिक तथा वैकल्पिक शिक्षा र समावेशी गरी ५ शाखा रहेका छन्। त्यस्तै मानव संसाधन विकास महाशाखाअन्तर्गत शैक्षिक व्यवस्थापन तालिम, शिक्षक तालिम, अनुसन्धान तथा गुणस्तर सुधार, आर्थिक प्रशासन, आन्तरिक प्रशासन र सूचना प्रविधि तथा पुस्तकालय गरी ६ शाखा रहेका छन्।

नयाँ संरचनामा १७ शाखा छन्।
शिक्षा विभाग सम्बद्ध शाखाहरूलाई शैक्षिक योजना तथा विकास, अनौपचारिक र शैक्षिक जनशक्ति विकास केन्द्रको दूर शिक्षा तथा खुला सिकाइतर्फका शाखाहरूलाई शैक्षिक प्रविधि तथा अनौपचारिक शिक्षा महाशाखाअन्तर्गत राखिएको छ। साथै शैक्षिक जनशक्ति विकास केन्द्रको मानव संसाधन महाशाखा र अन्य प्रशासनसँग सम्बन्धित शाखालाई मानव संसाधन विकास महाशाखाअन्र्तगत राखिएको छ। नयाँ केन्द्रमा १ सय १० जना कर्मचारी राख्ने तयारी भएको छ। कुन कर्मचारीलाई कुन शाखाको जिम्मा दिने भन्ने विषयमा हालसम्म निर्णय हुन सकेको छैन। महाशाखामा खटाइएका सह–सचिव पुरानै कार्यालयमा बसेर काम गरिरहेका छन्। ४ सह–सचिवहरू शैक्षिक जनशक्ति विकास केन्द्र, शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा बसेर काम गरिरहेका छन्। जिम्मेवारविहीन बन्न पुगेका तर पद पाएका सह–सचिवहरू पुरानै कार्यालयमा बसेर काम गरिरहेका छन्। मन्त्रालयले करिब ३ सयको संख्यामा रहेका कर्मचारीमध्ये कसलाई के काममा खटाउने भन्ने विषयमा निर्णय गर्न नसक्दा अधिकांश कर्मचारी कार्यालय आउने र फर्कने मात्र भएको छ।

संगठनलाई चुस्त, दुरुस्त बनाउन तीन तहलाई गाभिएको जनाए तापनि नयाँ संरचनाअन्तर्गत केन्द्रमा कसरी काम गर्ने भन्ने विषयमा कर्मचारीहरूनै दोधारमा रहेका छन्। महाशाखा र शाखा विभाजन गरिए तापनि काम सम्पादनका लागि जनशक्ति अभाव देखिन थालेको छ। प्रदेश, संघ र स्थानीय सरकारलाई शैक्षिक क्षेत्रको सम्पूर्ण अधिकार हस्तान्तरण गरेसंगै ३ वटा कार्यलयबाट सम्पादन हुँदै आएका काम कारबाही नवगठित इकाइमार्फत् गर्ने निर्णय भएपछि नयाँ संरचना बनेको केन्द्रको अवस्था भद्रगोल देखिएको छ। मन्त्रालयले भने नयाँ संरचना निर्माण भएका कारण व्यवस्थापन गर्न केही समय लाग्ने जिकीर गरको छ।