सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट भएको ठहर


सोम दियाली, सर्लाही ।
झापाको अर्जुनधारा नगरपालिकाका जनप्रतिनिधीहरुले हरिवन नगरपालिका र यहाँका जनप्रतिनिधीको काम र कार्यशैलीको प्रशंसा गरेका छन् ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरव खड्काको नेतृत्वमा ६ दिने भ्रमणका क्रममा झापाबाट सिधैं सर्लाहीको हरिवन आई पुगेको टोलीले हरिवन नगरपालिकाका जनप्रतिनिधी र यहाँको विकास निर्माणका काम उत्कृष्ट भएको बताएको हो ।

हरिवन नगरपालिकाका जनप्रतिनिधीहरुले गरेको राम्रो काम हामीले मात्रै हैन अन्य गाउँ तथा नगरपालिकाका जनप्रतिनिधीले पनि अनुशरण गर्नु पर्ने खालको रहेछ, भ्रमण टोली संयोजक खड्काले भने । उनले हरिवन नगरपालिकाले सवै नागरीकलाई करका दायरामा ल्याउन एकिकृत सम्पति कर लागू गरेको, नगरलाई अर्गानिक नगर बनाउने अभियान सुरु गरेको, नागरीकलाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले कृषि क्रान्ति सुरु गरेको लगायतको काम उत्कृष्ट भएको बताउनु भयो । त्यस्तै यहाँ विकास निर्माणका कामहरु पनि शतप्रतिशत सम्पन्न भएको प्रति आफुलाई गर्भ लागेको भ्रमण टोली संयोजक खड्काले प्रतिक्रिया दिए ।

हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईसँग यहाँ भई रहेका महत्वपूर्ण योजना र विकास निर्माणका काम बारे जानकारी लिँदै भ्रमण टोली सदस्य एवं अर्जुनधारा नगरपालिकाका वडा नम्बर १० का वडा अध्यक्ष बलदेव तामाङ्गले हरिवन नगरपालिकाको गतिविधिबाट आफु निकै प्रभावित भएको बताए । ‘हामी हरिवन नगरपालिकाको कार्य सम्पादनबाट निकै प्रभावित भएका छांै’– उनले –‘हामी यहाँ भएका राम्रा र उत्कृष्ट कार्यहरु आफ्नो नगरपालिकामा गएर प्रयोग ल्याउने छौं ।’

सर्लाही जिल्लामा मात्रै हैन प्रदेश नम्बर २ मै लोकप्रिय मेयरको रुपमा छवि बनाएका हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईँले आफ्नो नगरको गतिविधि जानकारी गराउन पाउँदा निकै खुशि लागेको बताउनु भयो ।